पोखरा ।
सभामुख डोलप्रसाद अर्यालले मुलुकको भौगोलिक संवेदनशीलता र जलवायु परिवर्तनका कारण बढ्दो विपद्प्रति चिन्ता व्यक्त गरेको छन् ।
बुधबारको प्रतिनिधि भसा बैठकमा सभामुख अर्यालले हालै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति प्रतिनिधि सभाको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै विशेष प्रश्ताव प्रश्तुत गरे ।
गत २०८३ साल भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भिषण बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोरखाका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
यस घटनामा थुप्रै स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाएका छन् भने कतिपय अझै बेपत्ता छन् ।
सभामुख अर्यालले विपद् प्रभावितहरूको उद्धार, राहत र विस्थापितहरूको पुनःस्थापनाका लागि तीनवटै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गर्न सरकारलाई निर्देशन दिए ।
उनले घाइतेहरूको उचित उपचार सुनिश्चित गर्न र प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको सुरक्षा एवं मानसिक स्वास्थ्यप्रति संवेदनशील हुन समेत सरकारको ध्यानाकर्षण गराए ।
उद्धार कार्यमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी, स्वयंसेवक र सञ्चारकर्मीप्रति सभाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
साथै, अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त प्राविधिक सहयोग र सद्भावप्रति आभार व्यक्त गरिएको छ । सभामुखले नेपालको कमजोर भू–संरचना र जलवायु परिवर्तनका कारण वर्षेनि ५०० भन्दा बढी विपद्का घटना हुने गरेको तथ्य प्रश्तुत गरे ।
हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिमताल विस्फोटको जोखिमलाई औंल्याउँदै उनले अब ‘विपद् पछिको व्यवस्थापन’ मात्र नभई ‘पूर्वतयारीको संस्कृति’ निर्माण गर्नुपर्नेमा जोड दिए ।
जलवायु परिवर्तनका कारण सिर्जित क्षति र नोक्शानीका विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको आवाज बलियो बनाउन उनले सरकारलाई आग्रह गरे ।
उनले भने, ‘जलवायु परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौतीका सम्बन्धमा नेपालले आफ्नो मुद्दा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन आवश्यक छ ।’
प्रतिनिधि सभाले राष्ट्रिय शोकको यस घडीमा सबै पक्षलाई ऐक्यवद्ध रहन र विपद् व्यवस्थापनमा सक्रिय भुमिका खेल्न आह्वान गरेको छ ।
सभामुखद्वारा प्रश्तुत उक्त विशेष प्रश्तावलाई प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको छ ।
बैठकले दिवंगतहरूको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण समेत गरेको छ । सभाले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
प्रकाशित मिति २०८३ भदौ १७ गते बुधबार ०४:१५




