२०८३ असोज २३ गते शुक्रबार

भोटेकोशी बाढी र विपद् व्यवस्थापनबारे परराष्ट्र मन्त्रालयद्वारा पछिल्लो अवस्था सार्वजनिकः खोज, उद्धार र राहत कार्य जारी

भोटेकोशी बाढी र विपद् व्यवस्थापनबारे परराष्ट्र मन्त्रालयद्वारा पछिल्लो अवस्था सार्वजनिकः खोज, उद्धार र राहत कार्य जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १८ गते बिहीबार ०३:३९

पोखरा । परराष्ट्र मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यका सम्बन्धमा पछिल्लो प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बिहीबार आयोजित नियमित...

पोखरा ।

परराष्ट्र मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यका सम्बन्धमा पछिल्लो प्रगति विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बिहीबार आयोजित नियमित प्रेस ब्रीफिङमार्फत विपद् व्यवस्थापनका नौवटा विभिन्न क्षेत्रमा भइरहेका कार्यहरूबारे जानकारी दिएका हुन् ।

मन्त्रालयकाअनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट १ हजार २५२ जनाको शव निकालिएको छ भने करिव ४ हजार २ सय जना अझै बेपत्ता छन् । उद्धार गरिएका ११ हजार ९९३ जनामध्ये ३ सय भन्दा बढी विदेशी नागरिक रहेका छन् ।

बेपत्ता हुनेहरूमा ३४ देशका ५९० विदेशी नागरिक रहेको प्रारम्भिक तथ्यांक छ । सरकारले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत तथ्यांक अद्यावधिक गरिरहेको छ ।

बेपत्ता विदेशी नागरिकका परिवार र कूटनीतिक नियोगहरूसँग समन्वय गर्न मन्त्रालयमा ‘इमर्जेन्सी कन्ट्रोल रूम’ क्रियाशील रहेको छ ।  उक्त कक्षमा दैनिक करिव २ सय सोधपुछ आउने गरेको र बिहान ७ देखि राति १० बजेसम्म हटलाइन सेवा सञ्चालनमा रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनासँगै भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोलीहरू परिचालन गरिएका छन् ।

हाल ९ हजार ३ सय भन्दा बढी नेपाली सेनाका जवानहरू रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीसम्म खटिएका छन् ।

चिलिमे र लाङटाङमा भारतीय टोली, माथिल्लो त्रिशूली ३–ए मा चिनियाँ टोली र माथिल्लो त्रिशूली–१ मा कोरियाली टोलीले नेपाली उद्धारकर्मीसँग मिलेर काम गरिरहेका छन् ।

लाङटाङतर्फ सुरुङको माथिल्लो भागबाट सानो प्वाल पारेर खोजी कार्य अघि बढाइएको छ भने हाकु क्षेत्रमा पनि पुनः प्रवेश गरी खोजी शुरु गरिएको छ ।

मृतकको पहिचानका लागि भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फोरेन्सिक विशेषज्ञ तथा ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोलीहरू खटिएका छन् ।

हालसम्म १९ भारतीय, ५ चिनियाँ र सिंगापुरका १९ विशेषज्ञहरूले डिएनए संकलन र विश्लेषण कार्य शुरु गरिसकेका छन् ।

मन्त्रालयले बेपत्ताका आफन्तहरूलाई डिएनए परीक्षणका लागि महाराजगञ्जस्थित प्रहरी अस्पताल वा नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

नेपालले बाढीपछिको जटिल परिस्थितिसँग जुध्न अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमताका ड्रोन, लाइडर, बेली ब्रिज, डिएनए परीक्षण किट र मोबाइल एयर ट्राफिक कन्ट्रोल सिस्टम जस्ता उपकरणहरूको माग गरेको छ ।

भारत, चीन, अमेरिका, बेलायत, जापानलगायत विभिन्न मित्रराष्ट्र र संयुक्त राष्ट्रसंघ, एसियाली विकास बैंक जस्ता दातृ निकायहरूले प्रदान गरेको सहयोगप्रति नेपालले आभार व्यक्त गरेको छ ।

प्रवक्ता क्षेत्रीले यो विपद्लाई हिमालयी क्षेत्रको संवेदनशीलता र जलवायु परिवर्तनको गम्भीर असरका रूपमा चित्रण गरे । नेपालले न्युन कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको मारमा बढी परेको उल्लेख गर्दै मन्त्रालयले ‘लस एण्ड ड्यामेज फण्ड’ बाट तत्काल सहयोगका लागि पत्राचार गरिसकेको जनाएको छ ।

प्रारम्भिक अनुमानमा घर, सडक, पुल र जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको देखिएकाले पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्याङ्कन गरिने मन्त्रालयको भनाइ छ ।

चीनको केरुङमा रहेका करिव १ हजार ४ सय नेपालीमध्ये ११४ जना तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेका छन् ।

चिनियाँ पक्षको समन्वयमा उनीहरूलाई फर्काउने प्रक्रिया जारी छ । यद्यपि, केरुङ क्षेत्रबाट बाढीको दिनदेखि करिव १ सय नेपाली अझै बेपत्ता रहेको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रकाशित मिति २०८३ भदौ १८ गते बिहीबार ०३:३९
हजुरको प्रतिक्रिया