पोखरा ।
भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा लगायतका जिल्लामा आएको बाढी र पहिरोको पछिल्लो अध्यावधिक विवरण सार्वजनिक गरेको हो ।
प्राधिकरणले बिहान ११ बजेसम्म उपलब्ध तथ्यांकअनुसार विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ४१ पुगेको जानकारी दिएको छ । बाढीबाट निधन भएकाहरुमध्ये सबैभन्दा धेरै शव चितवनमा ३६२ जनाको फेला परेको छ ।
यस्तै, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२०, नुवाकोटमा १९५, रसुवामा १६३, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।
फेला परेका शवमध्ये हालसम्म ९८ जनाको मात्रै सनाखत भई आफन्तले बुझिलिएको प्राधिकरणले जनाएको छ ।
विपद्मा परी अझै ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन छन् । जसमा नुवाकोटका २ हजार ३ सय ४०, रसुवाका १ हजार ९ सय ६७, विदेशी नागरिक ५८९ र सुरक्षाकर्मी तथा कर्मचारी १०० जना रहेका छन् ।
बेपत्ताको सूचीमा पहिचान नभएका शव र उद्धार गरिएका व्यक्तिहरू समेत समावेश हुनसक्ने भएकाले हाल तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको छ ।
उद्धार कार्यलाई तिबव्रता दिँदै हालसम्म १३ हजार १०४ जनाको सकुशल उद्धार गरिएको छ ।
जसमा नेपाली सेनाबाट ४ हजार १६२, नेपाल प्रहरीबाट ४ हजार ६८ र सशस्त्र प्रहरी बलबाट ४ हजार ८७४ जनाको उद्धार गरिएको छ । हवाई मार्गबाट ३०४ जना विदेशी नागरिकको समेत उद्धार गरिएको छ ।
बाढी र पहिरोमा परी घाइते भएका ६ हजार ७५ जनाको उपचार गरिएको छ । जसमध्ये ३ हजार २ सय ९७ जनाको नेपाली सेना, २ हजार ४ सय ६२ जनाको सशस्त्र प्रहरी र ३१६ जनाको विभिन्न अस्पतालहरूमा उपचार भएको छ ।
विस्थापितहरूका लागि रसुवा, नुवाकोट, धादिङ र काठमाडौँमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ, जहाँ हाल ३ हजार ६ सय ५२ जना आश्रित छन् । विपद् व्यवस्थापनका लागि कुल २१ हजार ४ सय ६५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय ७५ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् ।
प्रकाशित मिति २०८३ भदौ २१ गते आइतबार १२:१२




