२०८३ साउन २१ गते बिहीबार

शाखा अधिकृत सबै सेवाका विज्ञापन स्थगित

शाखा अधिकृत सबै सेवाका विज्ञापन स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २० गते मंगलबार ११:३७

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन स्थगन गरेको छ । उच्च अदालत पाटनद्वारा पुष १३ मा जारी अल्पकालीन अन्तरिम आदेशका कारण यो विज्ञापन स्थगित भएको हो । आयोगले सोमबार एक सूचना जारी गर्दै मङ्सिर २९ गते प्रकाशित राजपत्राङ्कित...

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन स्थगन गरेको छ । उच्च अदालत पाटनद्वारा पुष १३ मा जारी अल्पकालीन अन्तरिम आदेशका कारण यो विज्ञापन स्थगित भएको हो ।

आयोगले सोमबार एक सूचना जारी गर्दै मङ्सिर २९ गते प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदहरूको सूचना नं. ४१८/०७८-०७९ अन्तर्गतको न्याय सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवाका सबै बढुवा सूचनाहरू र सूचना नं. ४१९/ ०७८-०७९ अन्तर्गतका न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवा र सङ्घीय संसद् सेवाका खुल्ला तथा समावेशी समूहका सबै विज्ञापनहरू दरखास्त लिने कार्य अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको हो ।

लोक सेवा आयोगले २०७६ मा गरेको विज्ञापन बमोजिम सबै चरणका परीक्षा दिई अन्तिम सिफारिसको पर्खाइमा रहेका परीक्षार्थिहरुको योग्यता क्रम प्रकाशित पछि मात्रै अर्को विज्ञापन हुनुपर्ने माग गर्दै दायर रिटमा पुस उच्च अदालत पाटनले १३ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पुस १८ गतेसम्मका लागि यथास्थितिमा राख्न भनेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश डा. खुसीप्रसाद थारु र डा. नवराज थपलियाको संयुक्त इजलासले आइतबार लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको मुद्दामा गत मङ्सिर २९ गते आयोगले प्रकाशन गरेको विज्ञापनको प्रक्रिया अघि नबढाएर यथास्थितिमा राख्न पुस १३ गते कै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो ।

२०७६ साल मङ्सिर २५ गते गरेको विज्ञापन बमोजिम अन्तिम नतिजा र योग्यता क्रम प्रकाशित नगरीकनै लोक सेवा आयोगले २०७८ मङ्सिर २९ गते शाखा अधिकृतको विज्ञापन गरेको भन्दै परीक्षार्थिहरुले मुद्दा दर्ता गरेका थिए ।

प्रकाशित मिति २०७८ पुस २० गते मंगलबार ११:३७
हजुरको प्रतिक्रिया