२०८३ असोज २३ गते शुक्रबार

भदौ २४ लाई सम्झँदै दाहालले भने– एकै दिन यति ठूलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण मलाई थाहा छैन

भदौ २४ लाई सम्झँदै दाहालले भने– एकै दिन यति ठूलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण मलाई थाहा छैन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २४ गते बुधबार ११:५१

पोखरा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई नेपालको इतिहासकै गम्भीर र रहस्यमय घटनाका रूपमा चित्रण गर्दै त्यसको बहुआयामिक अनुसन्धान गर्नुपर्ने...

पोखरा ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई नेपालको इतिहासकै गम्भीर र रहस्यमय घटनाका रूपमा चित्रण गर्दै त्यसको बहुआयामिक अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

भदौ २४ को घटनाको स्मरण गर्दै दाहालले सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी संरचना तथा निजी भवनहरू केही घण्टामै ध्वस्त पारिएको बताए ।

उनले नेपालको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक आन्दोलन र नेपाली जनताको आकांक्षामाथि भएको यस्तो स्तरको प्रहारको गहिरो अध्ययन आवश्यक रहेको बताए । दाहालले घटनाको वास्तविक दोषी र विध्वंस मच्चाउने तत्वको पहिचान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।

उनकाअनुसार घटना भएको एक वर्ष बितिसक्दा पनि त्यस दिशामा अपेक्षित काम हुन सकेको छैन । उनले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनको दिशामा अघि नबढेको आरोप लगाए ।

आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुको साटो दराजमा थन्क्याउने काम भएको उनको भनाइ छ । दाहालले भदौ २३ गते युवाहरूले सुशासन र पारदर्शिताका लागि उठाएको आवाज र त्यसको भोलिपल्ट भएको घटनाक्रमलाई फरक ढंगले बुझ्नुपर्ने बताए ।

उनकाअनुसार भदौ २४ को घटनाले युवाहरूको भावना र आकांक्षालाई प्रतिनिधित्व नगरी भदौ २३ को आन्दोलनलाई अपहरण र कब्जा गर्ने शक्तिको हालीमुहाली देखाएको छ । ‘भदौ २४ को घटना रहस्यमय छ’ भन्दै दाहालले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयामसमेत रहेको बताए ।

उनले वर्तमान भू–राजनीतिक परिवेशलाई समेत ध्यानमा राख्दै घटनाको अन्तर्राष्ट्रिय आयामबाट समेत अध्ययन र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रिय दृष्टिकोणबाट सुरक्षा निकायको भुमिका, राजनीतिक नेतृत्वको भुमिका लगायत घटनासँग जोडिएका सबै पक्षबारे गहिरो अनुसन्धान हुनुपर्ने दाहालको भनाइ छ ।

दाहालले नेपालको इतिहासमा एकै दिन यति ठूलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण आफूलाई थाहा नभएको बताए । उनले अहिलेको अवस्थालाई नेपालको राष्ट्रिय स्वाधीनतामाथि सुगौली सन्धिपछिको सबैभन्दा ठूलो संकटका रूपमा समेत व्याख्या गरे ।

उनले भने, ‘आज भदौ २४ गते । गत वर्ष आजकै दिन नेपालको इतिहासमा अत्यन्त रहस्यमय र भयानक विध्वंश भयो। सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी तथा निजी संरचनामाथि केही घण्टामै भएको यो विध्वंश गम्भीर अनुसन्धानको विषय हो । नेपालको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक आन्दोलन र नेपाली जनताको आकांक्षामाथि भएको यो स्तरको प्रहारको वास्तविक दोषी को हुन् भन्ने तथ्यपूर्ण अनुसन्धान हुनैपर्छ । राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनसमेत कार्यान्वयनतर्फ अघि बढ्न नसक्नु दुःखद् छ । भदौ २३ गते युवाहरूले उठाएको सुशासन, पारदर्शिता र जवाफदेहिताको आकांक्षालाई भदौ २४ को घटनाले प्रतिनिधित्व गरेन; बरु त्यो आन्दोलनलाई अपहरण र कब्जा गर्ने प्रवृत्ति हावी भएको देखिन्छ । यस घटनाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयाम रहेकाले सुरक्षा निकाय, राजनीतिक नेतृत्वलगायत सबै पक्षको निष्पक्ष र गहिरो अनुसन्धान आवश्यक छ । भदौ २४ को घटनाले नेपालको राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र र नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ । त्यसैले घटनाको बहुआयामिक अनुसन्धान गरी दोषी पहिचान र कारबाही गर्न तथा संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतालाई थप सुदृढ बनाउन सबै राजनीतिक शक्ति, देशभक्त र आम नेपाली जनता एकतावद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो । हाम्रो पार्टीले भदौ २३ र २४ का घटनालाई कसरी बुझ्ने भन्नेबारे आजै प्रेस वक्तव्यमार्फत आफ्नो धारणा स्पष्ट गरेको छ । उक्त वक्तव्यको अध्ययन गर्न सबैमा हार्दिक अपिल गर्दछु ।’

उनकाअनुसार पछिल्लो घटनाक्रमले नेपाली जनताको आत्मनिर्णयको अधिकार खोसिएको अनुभूति गराएको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानमाथि निरंकुशताको प्रहार भएको र भदौ २४ को घटनाक्रमले संविधानलाई कमजोर बनाएको उनले बताए ।

दाहालले घटनाको बहुआयामिक अध्ययन तथा अनुसन्धान गरी दोषी पहिचान गरेर कुनै आग्रह–पूर्वाग्रहबिना कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतालाई अझ सुदृढ बनाउन देशका सबै राजनीतिक शक्ति, देशभक्त तथा आम नेपाली जनता एक भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति २०८३ भदौ २४ गते बुधबार ११:५१
हजुरको प्रतिक्रिया