काठमाडौं ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा जिल्लाको सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि डिश मिडिया नेटवर्क लिमिटेडले युटेलस्याट वनवेबसँगको सहकार्यमा निःशुल्क स्याटलाइट इन्टरनेट सेवा उपलब्ध गराएको छ । गत १० भदौमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठुलो क्षति पुर्याएपछि सञ्चार र सूचना आदानप्रदानलाई निरन्तरता दिन डिशहोमले यो पहल गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति र समन्वयमा डिशहोमले युटेलस्याट वनवेबसँग मिलेर बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा यो सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार उक्त सेवा २० भदौदेखि नै प्राथमिकताका आधारमा उपलब्ध गराउन थालिएको हो ।
प्राकृतिक विपद्को समयमा उद्धार, राहत र समन्वयका लागि भरपर्दो सञ्चार सेवा अत्यावश्यक हुने भएकाले यो पहल अन्तर्गत हाल प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूमा निःशुल्क स्याटलाइट इन्टरनेट जडान गरिएको छ ।
यो सेवा युटेलस्याट वनवेबको अत्याधुनिक लो-अर्थ अर्बिट स्याटलाइट प्रविधिमार्फत प्रदान गरिएको हो । बाढीका कारण क्षतिग्रस्त भएको जमिनमा आधारित टेरेस्टियल दूरसञ्चार र इन्टरनेट पूर्वाधारको भरपर्दो विकल्पको रूपमा यसले काम गर्नेछ ।
यस प्रविधिले सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी र मानवीय सहायतामा संलग्न विभिन्न सरोकारवालाहरूबिच वास्तविक समयमा सूचना आदानप्रदान गर्न र आवश्यक डेटा प्रवाहलाई निरन्तरता दिन ठुलो सहयोग पुग्ने विश्वास लिइएको छ।
डिशहोमले परम्परागत दूरसञ्चार माध्यम अवरुद्ध हुँदा वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउनु आफ्नो प्रमुख प्राथमिकता रहेको जनाएको छ। यस्तो कठिन परिस्थितिमा सरकारी निकाय र प्रभावित समुदायलाई आवश्यक सञ्चार सुविधा पुर्याउन कम्पनी प्रतिबद्ध रहेको र विपद् व्यवस्थापन एवं पुनःस्थापनाको यस महत्त्वपूर्ण समयमा आवश्यकता अनुसार थप सेवा र स्रोत परिचालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
डिशहोमले नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी निकाय र स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै प्रभावित क्षेत्रमा कनेक्टिभिटीको आवश्यकता र प्राथमिकताको मूल्यांकन गरिरहने बताएको छ । सञ्चार पूर्वाधार पूर्ण रूपमा मर्मत नभएसम्म उच्च प्राथमिकतामा रहेका थप स्थानहरूमा समेत स्याटलाइट इन्टरनेट विस्तार गर्दै जाने कम्पनीको योजना छ ।
यस पहल मार्फत डिशहोम र युटेलस्याटले विपद्को समयमा प्रविधिको प्रभावकारी उपयोग गर्दै आपत्कालीन सञ्चार, उद्धार र राहत कार्यमा समुदायको प्रतिरोधक क्षमता सुदृढ गर्न योगदान पुर्याउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् ।
प्रकाशित मिति २०८३ भदौ २४ गते बुधबार ०४:३३




