रुकुम पश्चिम ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ५ को सीमामा रहेको स्यार्पु ताल पर्यटकको आर्कषणको गन्तब्य बन्न सक्छ ।
चारैतिर हरियाली पहाड, शान्त वातावरण र मनमोहक प्राकृतिक दृश्यले घेरिएको तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक पनि पुग्न थालेका छन् ।
मुसिकोट खलंगाबाट करिब २० किलोमिटर दूरीमा रहेको स्यार्पु ताललाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय बताउँछन् ।
तालको उत्तरतर्फ स्यार्पु गाउँ र खारखोला, दक्षिणमा दह गाउँ, पूर्वमा पैयाबार गाउँ तथा पश्चिममा दह गेठ क्षेत्र पर्छ । तर पर्यटकको आकर्षण बढ्दै गए पनि तालमा डुंगा सञ्चालन नहुँदा पर्यटन गतिविधि विस्तारमा चुनौती देखिएको छ ।
तालको वातावरणमा पेट्रोल डुंगाले असर पार्ने भन्दै बाँफिकोट गाउँपालिकाले डुंगा सञ्चालनमा रोक लगाएपछि पर्यटकले किनाराबाटै तालको अवलोकन गर्नुपर्ने अवस्था छ ।
स्थानीय कर्णवीर दाहालले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै सुरक्षित विद्युतीय डुंगा सञ्चालन गर्न सके पर्यटकको आकर्षण बढ्ने बताए ।
बर्दियाबाट आएका पर्यटक हरिहर थारुले तालको प्राकृतिक सौन्दर्य नजिकबाट नियाल्न डुंगा सेवा आवश्यक रहेको बताए ।
स्थानीय होटल व्यवसायीले ताल क्षेत्रमा पूर्वाधार विकास, प्रचारप्रसार र वातावरणमैत्री पर्यटन गतिविधि बढाउन सके रोजगारी तथा आम्दानीका अवसर सिर्जना हुने बताएका छन् ।
वातावरण संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि गाउँपालिका र स्थानीयबीच समन्वय आवश्यक देखिएको रुकुम पश्चिमका पत्रकार प्रचण्ड खत्रीले बताए ।
प्रकाशित मिति २०८३ भदौ २९ गते सोमबार ०४:५६




