२०८३ असोज २४ गते शनिबार

हिमभास २०२७ मा १०० भन्दा बढी देशका विज्ञ सहभागी हुने, मेडिकल टुरिजम प्रवद्र्धनमा जोड

हिमभास २०२७ मा १०० भन्दा बढी देशका विज्ञ सहभागी हुने, मेडिकल टुरिजम प्रवद्र्धनमा जोड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ३१ गते बुधबार १२:१२

पोखरा । हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास) को दोस्रो संस्करण आगामी चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । हिमभासका अध्यक्ष डा. सन्दीपराज पाण्डेकाअनुसार सम्मेलन १७ मार्चदेखि २१ मार्च २०२७ सम्म सञ्चालन हुनेछ...

पोखरा ।

हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास) को दोस्रो संस्करण आगामी चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

हिमभासका अध्यक्ष डा. सन्दीपराज पाण्डेकाअनुसार सम्मेलन १७ मार्चदेखि २१ मार्च २०२७ सम्म सञ्चालन हुनेछ ।

नेपालमा भास्कुलरसम्बन्धी पहिलो वृहत अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा सन् २०२४ मा आयोजना गरिएको हिमभासलाई निरन्तरता दिँदै दोस्रो संस्करण आयोजना गर्न लागिएको हो ।

ललितपुरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सन् २०२४ मा आयोजित पहिलो संस्करणमा ४२ देशका विज्ञ चिकित्सक तथा वैज्ञानिक सहभागी भएका जानकारी दिए ।

तीन दिनसम्म चलेको उक्त सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ३५० भन्दा बढीको सहभागिता रहेको डा. पाण्डेले बताए ।

यसपटक सम्मेलनलाई अझ ठूलो बनाउने तयारी भइरहेको छ । आयोजकले १०० भन्दा बढी देशका विशेषज्ञ चिकित्सक तथा वैज्ञानिकलाई निमन्त्रणा पठाएको र हालसम्म ६० भन्दा बढी देशबाट सहभागिताका लागि दर्ता भइसकेको जनाएको छ ।

आयोजककाअनुसार यस संस्करणमा अघिल्लो पटकको तुलनामा कम्तीमा दोब्बर विदेशी विज्ञ सहभागी हुने अपेक्षा गरिएको छ ।

हिमालय क्षेत्रसँग सम्बन्धित मुलुक तथा विश्वका विभिन्न देशका भास्कुलर विशेषज्ञलाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप, अनुसन्धान तथा उपचार अनुभव आदानप्रदान गर्ने उद्देश्यले हिमभास आयोजना हुँदै आएको डा. पाण्डेले बताए ।

उनकाअनुसार सम्मेलनमा भास्कुलरसम्बन्धी अध्ययन तथा अनुसन्धानका प्रतिवेदन, वैज्ञानिक पेपर र पोस्टर प्रश्तुत गरिनेछन् । यसपटक ३०० भन्दा बढी पेपर तथा पोस्टर प्रश्तुत हुने तयारी छ ।

भास्कुलर चिकित्सा मानव शरीरमा शिरदेखि पाउसम्म रहेका विभिन्न रक्तनलीको अध्ययन, अनुसन्धान, रोग पहिचान तथा उपचारसँग सम्बन्धित चिकित्सा विधा हो । सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, इटाली, फ्रान्स, उरुग्वे, जापान, चीन, भारत र यूएईलगायत देशका विशेषज्ञ सहभागी हुने आयोजकले जनाएको छ ।

त्यस्तै बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, सिंगापुर, टर्की, अस्ट्रिया, कोलम्बिया, इजिप्ट, हङकङ, स्वीडेन र ओमानलगायत देशका विज्ञहरूको सहभागिता पनि सुनिश्चित भएको बताइएको छ ।

हिमभास २०२७ को अर्को प्रमुख उद्देश्य नेपालको मेडिकल टुरिजम प्रवद्र्धन गर्नु रहेको डा. पाण्डेले बताए ।

पहिलो हिमभासमा सहभागी ४० भन्दा बढी विदेशी विशेषज्ञ सम्मेलनपछि माउन्टेन फ्लाइट तथा अन्नपूर्ण आधार शिविर (एबीसी) ट्रेकमा गएको उनले जानकारी दिए ।

यसपटक पनि सहभागी धेरै विदेशी चिकित्सकले सम्मेलनपछि केही दिन नेपालमा बसेर विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने इच्छा व्यक्त गरेको उनले बताए । यसले सम्मेलनसँगै नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने आयोजकको अपेक्षा छ ।

डा. पाण्डेकाअनुसार पहिलो हिमभासपछि ३०० भन्दा बढी विदेशी बिरामीले उपचारका लागि आफूलाई सम्पर्क गरेको दाबी गर्दै भारत, भुटान र बंगलादेशका साथै मध्यपूर्व, मलेसिया, इण्डोनेसिया, टर्की तथा केही युरोपेली मुलुकबाट समेत बिरामी नेपालमा उपचारका लागि आउन थालेको छ ।

नेपालमा तुलनात्मक रूपमा सस्तो, सहज र गुणस्तरीय उपचार उपलब्ध हुने सन्देश अन्तर्राष्ट्रिय स्तरमा पुग्नु सम्मेलनको महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।

आयोजककाअनुसार हिमभास २०२७ मार्फत विश्वभरका विज्ञबीच चिकित्सा ज्ञान र अनुभव आदानप्रदानलाई थप विस्तार गर्नुका साथै नेपालको स्वास्थ्य सेवा र पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने प्रयास गरिनेछ ।

प्रकाशित मिति २०८३ भदौ ३१ गते बुधबार १२:१२
हजुरको प्रतिक्रिया