२०८३ असोज २३ गते शुक्रबार

विद्युतीय सवारी दुर्घटना नियन्त्रण गर्न ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सांसद बमको माग

विद्युतीय सवारी दुर्घटना नियन्त्रण गर्न ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सांसद बमको माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ३१ गते बुधबार ०२:४१

पोखरा । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनाको दर बढ्दै गएको भन्दै ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा...

पोखरा ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनाको दर बढ्दै गएको भन्दै ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले सवारी चालकको लापरवाही, कम उमेर र अनुभवहीन चालक तथा सार्वजनिक सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया प्रभावकारी भए नभएको विषयमा विषयमा समीक्षा गरी आवश्यकताअनुसार पुनरालोकन गर्न पनि माग गरे ।

उनले दुर्घटनाको विषयलाई सवारीसाधनको कमजोरीमा मात्र सीमित नगरी समग्र सडक सुरक्षा प्रणालीसँग जोडेर हेर्नुपर्ने अध्ययन गर्न आवश्यक रहेको पनि बताए । उनले चालकको अनुभव, सीप र नियमन प्रणालीलाई समेत दुर्घटनाको कारणका रूपमा अध्ययन गर्नुपर्ने बताए ।

सांसद बमले ईभीको प्रविधि अन्य सवारीसाधनभन्दा फरक भएकाले यसको सुरक्षित प्रयोग, ब्याट्रीको अवस्था पहिचान, चार्जिङका क्रममा अपनाउनुपर्ने सावधानी र दुर्घटनापछि गर्नुपर्ने कामबारे प्रयोगकर्तालाई जानकारी दिन आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘पछिल्लो समय ईभी गाडीको दुर्घटना दर निकै बढेको देखिन्छ । तर हाम्रो प्रश्न इभी मात्र होइना समग्र रोड सेफ्टी सिस्टममाथि हो । सवारी चालकमा चरम लापरवाही देखिन्छ । धेरै चालक कम उमेरका र अनुभवहीन छन् । सार्वजनिक सवारी चलाउन सवारी चालक अनुमति पत्र प्राप्त गर्ने प्रक्रिया कतिको वैज्ञानिक र प्रभावकारी छ भन्ने प्रश्न उठेको छ । हिजो दुर्घटना भएको ईभी सवारी चालकको उमेर मात्र २० वर्ष छ । त्यसैले दुर्घटना भएपछि गाडीलाई मात्रै दोष दिने कि चालकको अनुभव, सिप र नियमनलाई पनि हेर्ने ? र इभी सवालमा पनि यही कुरा लागू हुन्छ । के हामीले ईभी किनेपछि त्यसलाई कसरी सुरक्षित र सही तरिकाले प्रयोग गर्ने भन्ने शिक्षा दिएका छौँ ? यो प्रश्न एकदमै टड्कारो छ । ईभीको प्रविधि फरक छ, ब्याट्रीको अवस्था कसरी बुझ्ने, चार्ज गर्दा के कुरामा ध्यान दिने, दुर्घटना भयो भने के गर्ने ? समस्याहरुको प्रारम्भिक संकेत कसरी पहिचान गर्ने ? यी विषयमा सरकारले ईभी सेफ्टी एजुकेसन शुरु गर्नुपर्छ । यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, सवारी उत्पादक र प्राविधिक विज्ञलाई समेटेर सरल नेपाली भाषामा सेफ्टी गाइडलाइन्स बनाऔँ ।’

उनले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, सवारी उत्पादक र प्राविधिक विज्ञलाई सहभागी गराएर सरल नेपाली भाषामा ईभी सुरक्षा निर्देशिका तयार गर्न गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति २०८३ भदौ ३१ गते बुधबार ०२:४१
हजुरको प्रतिक्रिया