काठमाडौं ।
नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत असोज ७ गते बुधबार देशभरका पालिकाहरूमा पालिका अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५ औँ केन्द्रीय महाधिवेशन हुँदैछ । सोही महाधिवेशनको निर्वाचन कार्यतालिका अनुसार आज असोज ७ गते देशभरका ५८ जिल्लाका ५ सय १२ पालिकामा अधिवेशन सुरु भएको हो ।
आज ५ सय १२ पालिकामा उद्घाटन सत्रसँगै बन्द सत्र प्रारम्भ भई निर्वाचन प्रक्रिया अघि बढेको जानकारी प्राप्त भएको छ । बाँकी रहेका २ सय ४१ पालिकामा भने असोज ८ र ९ गतेसम्म अधिवेशन जारी रहनेछ ।
अधिवेशन चलिरहेकै समयमा आगामी दिनमा मौसम प्रतिकूल हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । विभागका अनुसार असोज ८ देखि १२ गतेसम्म देशभर भारी वर्षा हुने सम्भावना रहेको छ ।
मौसमको प्रतिकूलतालाई ध्यानमा राख्दै नेपाली कांग्रेसले सम्बन्धित निर्वाचन अधिकृतहरूलाई उच्च सचेतता अपनाउन आग्रह गरेको छ । वर्षा र मौसमको अवस्था हेरेर अनुकूल समय मिलाई पालिका, प्रदेश सभा र प्रतिनिधि सभाका अधिवेशनहरू गर्न गराउन निर्देशन दिइएको छ ।
‘प्राप्त जानकारी अनुसार ५८ जिल्लाका ५ सय १२ पालिकामा अधिवेशन प्रक्रिया अघि बढेको छ । बाँकी रहेका २ सय ४१ पालिकामा असोज ८ र ९ गते पनि अधिवेशन जारी रहनेछ,’ केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले भने, ‘जल तथा मौसम विभागबाट असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान प्राप्त भएकाले सम्बन्धित निर्वाचन अधिकृतहरूले मौसमलाई ध्यानमा राखी सचेत भई अनुकूल समय मिलाएर अधिवेशन गराउन निर्देशन गरिएको छ ।’
विज्ञप्ति जारी गर्दै सदस्य सचिव राजु कटुवालले मौसमको जोखिमलाई मध्यनजर गर्दै आफ्ना मातहतका क्षेत्रमा पूर्वतयारीका साथ अधिवेशन सम्पन्न गराउन सबै निर्वाचन अधिकृतहरूलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति २०८३ असोज ७ गते बुधबार ०७:४६




