२०८३ असोज २३ गते शुक्रबार

नेता बास्तोला कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको दौडमा

नेता बास्तोला कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको दौडमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज ९ गते शुक्रबार ०७:३२

पोखरा, ९ असोज । नेपाली कांग्रेस कास्कीका पुराना तथा अनुभवी नेता खिमलाल बास्तोला आसन्न महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवार बन्ने तयारीमा जुट्ेकाछन् । पचासको दशकदेखि नेपाली राजनीतिमा सक्रिय रहँदै आएका बास्तोलाले...

पोखरा, ९ असोज ।
नेपाली कांग्रेस कास्कीका पुराना तथा अनुभवी नेता खिमलाल बास्तोला आसन्न महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवार बन्ने तयारीमा जुट्ेकाछन् ।
पचासको दशकदेखि नेपाली राजनीतिमा सक्रिय रहँदै आएका बास्तोलाले पार्टी संगठन निर्माणदेखि सामाजिक तथा राजनीतिक अभियानसम्म निरन्तर भूमिका निर्वाह गर्दै आएका छन् । उनले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ को सचिवका रूपमा करिब एक दशक जिम्मेवारी सम्हाल्दै पार्टी संगठनलाई स्थानीय तहसम्म सुदृढ बनाउन भूमिका खेलेका थिए ।
हाल नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य रहनुभएका बास्तोलाले व्यक्तिभन्दा नीति, विधि र विचारलाई प्राथमिकता दिने राजनीति आवश्यक रहेको बताउँदै आएका छन् । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै संगठनलाई थप व्यवस्थित, गतिशील र जनमुखी बनाउन आफूले निरन्तर आवाज उठाउँदै आएको उनको भनाइ छ ।
लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय बास्तोलाले बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीले आफ्ना नीति, संगठन र कार्यशैलीमा समेत आवश्यक सुधार गर्दै अघि बढ्नुपर्ने धारणा राख्दै आएका छन् । उनले युवा पुस्तालाई पार्टी राजनीतिमा थप अवसर र जिम्मेवारी दिनुपर्ने तथा अनुभवी पुस्ताको योगदान र नयाँ पुस्ताको ऊर्जाबीच समन्वय आवश्यक रहेको बताए ।
सामाजिक तथा राजनीतिक परिवर्तनका विभिन्न अभियानमा सक्रिय रहँदै आएका बास्तोलाले केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको नीति निर्माण र संगठन सुदृढीकरणमा थप योगदान गर्न आफू सक्षम रहेको दाबी गरे ।
पार्टीको लामो राजनीतिक यात्राबाट प्राप्त अनुभवलाई केन्द्रीय तहमा उपयोग गर्दै कांग्रेसलाई थप जनउत्तरदायी, विचारमुखी र संगठनात्मक रूपमा सबल बनाउन आफ्नो उम्मेदवारी रहने उनले बताए । महाधिवेशन प्रतिनिधिको भूमिकामार्फत पार्टीको आगामी दिशा, नीति र नेतृत्व निर्माणमा रचनात्मक योगदान गर्ने बास्तोलाको भनाइ छ ।
आसन्न महाधिवेशनसँगै कास्की कांग्रेसमा विभिन्न नेताहरूले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि आफ्नो दाबी प्रस्तुत गरिरहेका बेला बास्तोलाको उम्मेदवारीको तयारीलाई पनि चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति २०८३ असोज ९ गते शुक्रबार ०७:३२
हजुरको प्रतिक्रिया