२०८३ असोज २३ गते शुक्रबार

कास्की–१ को सभापतिमा नरेन्द्र थापाको उम्मेदवारी

कास्की–१ को सभापतिमा नरेन्द्र थापाको उम्मेदवारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज ११ गते आइतबार ०३:२०

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को सभापति पदमा नरेन्द्र थापा ‘नरेन’ले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय नेतृत्वका लागि थापाले बिहीबार पार्टी कार्यालयबाट आफ्नो उम्मेदवारी...

पोखरा ।
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को सभापति पदमा नरेन्द्र थापा ‘नरेन’ले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय नेतृत्वका लागि थापाले बिहीबार पार्टी कार्यालयबाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्दै थापाले निष्ठावान् कार्यकर्ताको मूल्यांकन, सशक्त युवा पुस्ताको सहभागिता र अग्रजहरूको सम्मानलाई केन्द्रमा राखेर कास्की कांग्रेसलाई थप गतिशील, एकताबद्ध र भरोसायोग्य बनाउने उद्देश्यले सभापतिमा उम्मेदवारी दिएको बताए ।

‘बोल्नेभन्दा काम गरेर देखाउने मेरो कार्यशैली हो। कास्की क्षेत्र नम्बर १ का प्रत्येक साथीहरूको आत्मसम्मान र पार्टीको गरिमा उच्च राख्ने मेरो दृढ संकल्प छ’, उनले भने ।
थापाले नेपाली कांग्रेसको संगठन, लोकतन्त्र र जनताको सेवामा आफ्नो जीवनको उर्वर समय निरन्तर समर्पित गर्दै आएको बताए । नेपाल तरुण दलको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै हाल जिल्ला सचिवको भूमिकामा युवालाई पार्टीमा जोड्ने काम गरेको, पार्टीको नीति निर्माणमा महाधिवेशन प्रतिनिधिका रूपमा भूमिका निर्वाह गरेको तथा स्थानीयस्तरमा जनप्रतिनिधि भएर जनताको सुख–दुःखमा काम गरेको उनले उल्लेख गरे ।

विभिन्न सामाजिक संघ–संस्थाको नेतृत्वसमेत गर्दै आएको बताउँदै थापाले आफ्नो अनुभवलाई क्षेत्रीय संगठन सुदृढीकरणमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले कास्की क्षेत्र नम्बर १ का क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो पक्षमा मतदान गरी सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन् । ‘सम्पूर्ण आदरणीय क्षेत्रीय प्रतिनिधि साथीहरूले मलाई आफ्नो अमूल्य मत, विश्वास र आशीर्वाद दिएर सेवा गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छु’, उनले भने ।

प्रकाशित मिति २०८३ असोज ११ गते आइतबार ०३:२०
हजुरको प्रतिक्रिया