पोखरा ।
रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ चेन्नई मित्र, भारत र रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा फेदीखोला गाउँपालिका–४, आरुखर्क, स्याङ्जा को विशेष सहयोगमा १०१ घरपरिवारलाई विद्युतीय चुलो तथा भाँडाकुँडा वितरण गरिएको छ । सोमवार श्री जन आदर्श माध्यमिक विद्यालय, आरुखर्क को प्राङ्गणमा रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष रोटेरियन राजकुमार गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा रोटरी क्लब अफ चेन्नई मित्र तथा डिस्ट्रिक्ट ३२३४ का पूर्व डिस्ट्रिक्ट गभर्नर रोटेरियन एन. एस. सरावणन उपस्थित रहेको थियो ।
विशेष अतिथिमा रोटरी क्लब अफ चेन्नई मित्रका पूर्व अध्यक्ष एस. साई रहेका थिए । कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का तर्फबाट रोटेरियन लक्ष्मी थापाले विद्युतीय चुलोको प्रयोग तथा यसको स्वास्थ्य र वातावरणीय फाइदाबारे जानकारी थिए । रोटरी क्लब अफ पोखरा क्यापिटलका अध्यक्ष रोटेरियन रमेश बराल र वडा अध्यक्ष ख्यामनारायण पौडेलले सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रमका अध्यक्ष गुरुङले उक्त कार्यक्रम रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीको वार्षिक कार्ययोजनाअन्तर्गत आयोजना गरिएको जानकारी दिँदै विद्युतीय चुलोको प्रयोगले दाउराको धुवाँबाट हुने स्वास्थ्य असर न्यूनीकरण तथा वातावरण संरक्षणमा सहयोग पुग्ने बताए । उनले कार्यक्रमका लागि विशेष सहयोग गरेको फेदीखोला गाउँपालिका–४, आरुखर्क, स्याङ्जा प्रति आभार व्यक्त गरे ।
कार्यक्रममा प्रत्येक परिवारलाई एक थान विद्युतीय चुलो, कराही, कुकर र ताप्के वितरण गरिएको थियो ।
कार्यक्रममा रोटेरियन, वडाका जनप्रतिनिधि, शिक्षक र विद्यार्थीको समेत उपस्थिती रहेको थियो। कार्यक्रमको स्वागत रोटरी क्लब अफ पोखरा न्युरोडका उपाध्यक्ष रोटेरियन छवि सुवेदीले गरेका थिए भने सञ्चालन सहसचिव रोटेरियन कुमार श्रेष्ठले गरेका थिए ।




