२०८३ असोज २४ गते शनिबार

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २४ गते शनिबार ०४:३१

यस वर्ष बडादसैँका दसैँ दिनसम्म कोतघरमा पाणासहितका पुजारीहरूले राष्ट्र शान्तिको कामना गर्दै विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । मन्दिरमा तान्त्रिक तथा वैदिक दुवै विधिबाट पूजाआजा गरिने सचिव त्रिपाठीले जानकारी दिए ।

फूलपातिमा सरुङ खेल प्रर्दशन

पोखरा ।

कास्कीकोट दरबार परिसरमा रहेको गुप्तकाली मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव आयोजना हुने भएको छ ।

गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडादसैँको अवसर पारेर घटस्थापनादेखि नवमीसम्म महोत्सव सञ्चालन हुन लागेको हो ।

परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको मन्दिरमा यस वर्ष देशमा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट मानवीय र भौतिक क्षति नहोस् भन्ने कामनासहित विशेष पूजा गरिने भएको छ ।

घटस्थापनादेखि विजयादशमीसम्म पुजारीहरू मन्दिरमै बसेर गुप्तकालीको आराधना गर्ने कार्यक्रम रहेको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीले बताए ।

घटस्थापनाको दिन असोज २५ गते विधिपूर्वक कोतघरमा प्रवेश गरी नवदुर्गाभर विशेष चण्डीपाठ तथा दुर्गाकवच पाठ गरिने समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए ।

उनकाअनुसार कास्कीकोटस्थित गुप्तकाली मन्दिरमा परापूर्वकालदेखि नै विभिन्न पर्व तथा अवसरमा विशेष धार्मिक गतिविधि सञ्चालन हुँदै आएका छन् ।

यस वर्ष बडादसैँका दसैँ दिनसम्म कोतघरमा पाणासहितका पुजारीहरूले राष्ट्र शान्तिको कामना गर्दै विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । मन्दिरमा तान्त्रिक तथा वैदिक दुवै विधिबाट पूजाआजा गरिने सचिव त्रिपाठीले जानकारी दिए ।

बडादसैँको फूलपातीका दिन पोखराको रामघाटबाट ल्याइएको फूलको डोली विधिपूर्वक मन्दिरमा भित्र्याई नवपत्रिकाको तान्त्रिक विधिअनुसार पूजा गरिनेछ ।

सोही दिन कुँवर समुदायको परम्परागत तथा लोपोन्मुख सैन्य अभ्यास ‘सरुन खेल’ समेत प्रदर्शन गरिने कार्यक्रम रहेको त्रिपाठीले बताए ।

त्यस्तै, महाअष्टमीको मध्यरातमा कालरात्रिको पूजा गरिनेछ भने महानवमीका दिन पञ्चबलि दिने परम्परा रहेको छ ।

विजयादशमीका दिन मन्दिरमा टीका ग्रहण गरेपछि फूलपाती तथा अन्य पूजासामग्रीसहित वास्पानी कालिकामा पूजा विसर्जन गरिनेछ ।

कास्कीकोटमा दसैँका अवसरमा नेपालमै लोपोन्मुख अवस्थामा रहेको सरुन खेल तथा परम्परागत मालश्री धुन प्रस्तुत गरिने सचिव त्रिपाठीले बताए ।

यसका साथै कोतघरमा दसैँका बेला बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तथा तरबार र तोपसमेत प्रदर्शन गरिने समितिले जनाएको छ ।

गुप्तकाली मन्दिरमा पूजाआजा तथा पञ्चबलिको भाकल गर्न आउने भक्तजनको दैनिक भीड लाग्ने गरेको छ ।

कास्की राज्यको स्थापनाकालदेखि नै यस मन्दिरमा हरेक दसैँमा विशेष पूजा हुँदै आएको धार्मिक विश्वास छ । यही स्थानका नामबाट कास्की जिल्लाको नामकरण भएको भन्ने किंवदन्तीसमेत प्रचलित छ ।

प्रकाशित मिति २०८३ असोज २४ गते शनिबार ०४:३१
हजुरको प्रतिक्रिया