२०८३ असोज २६ गते सोमबार

भारतसँगको सम्बन्धलाई भावनात्मक निकटताबाट परिणाममुखी साझेदारीतर्फ लैजाने प्रश्तावित राजदुत पाण्डेको प्रतिवद्धता

भारतसँगको सम्बन्धलाई भावनात्मक निकटताबाट परिणाममुखी साझेदारीतर्फ लैजाने प्रश्तावित राजदुत पाण्डेको प्रतिवद्धता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २६ गते सोमबार ०२:३४

विगतमा नेपाल सरकारको तर्फबाट बजेट विनियोजन कम हुँदा भारतको तुलनामा नेपाली पक्षका कार्यक्रमहरू ओझेलमा परेको स्वीकार गर्दै उनले राष्ट्रिय प्राथमिकताका आधारमा फाउण्डेसनका गतिविधिहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौँ ।

भारतका लागि प्रश्तावित नेपाली राजदुत डा. निश्चलनाथ पाण्डेले नेपालको कुटनीतिलाई असफल भन्न नमिल्ने स्पष्ट पारेका छन् ।

सोमबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्ना दृष्टिकोण र कार्ययोजना प्रश्तुत गर्दै उनले सिङ्गो दक्षिण एशिया बेलायती उपनिवेशमा रहँदा समेत नेपाल अविभाज्य र स्वतन्त्र रहनु नै मुलुकको कुटनीतिक सफलताको ऐतिहासिक प्रमाण भएको दाबी गरेका छन् ।

संसदीय सुनुवाई समितिका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै डा. पाण्डेले विकास र पूर्वाधार निर्माण तथा राजनीतिक स्थिरतामा कमजोरी देखिए पनि नेपालको सार्वभौमिक कुटनीति कहिल्यै असफल नभएको बताए ।

उनले नेपालजस्तो सानो राष्ट्र आफ्नो नक्सा, झण्डा र राष्ट्रिय पहिचानका सवालमा स्वाभाविक रूपमै संवेदनशील रहने उल्लेख गर्दै कुटनीतिक वार्ताहरूमा पर्याप्त गृहकार्य र परिपक्वता आवश्यक पर्ने बताए ।

वीपी कोईराला भारत–नेपाल फाउण्डेसन (बीपीकेएफ) को प्रभावकारिता घट्दै गएको विषयमा प्रष्टीकरण दिँदै डा. पाण्डेले यस संयन्त्रलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याए ।

विगतमा नेपाल सरकारको तर्फबाट बजेट विनियोजन कम हुँदा भारतको तुलनामा नेपाली पक्षका कार्यक्रमहरू ओझेलमा परेको स्वीकार गर्दै उनले राष्ट्रिय प्राथमिकताका आधारमा फाउण्डेसनका गतिविधिहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

नयाँ दिल्लीस्थित नेपाली राजदुतावासको कार्यशैली र व्यवस्थापनमा व्यापक सुधार ल्याउने अठोट व्यक्त गर्दै डा. पाण्डेले आधारभुत सूचना प्रविधिमा समेत कमजोरी देखिएको उल्लेख गरे ।

दुतावासको आधिकारिक वेबसाइटमा पूर्वराजदूतहरूको नामावलीसमेत नहुनु दुःखद् भएको भन्दै उनले कुनै अतिरिक्त बजेटबिनै सुधार गर्न सकिने प्रशासनिक कामहरू तत्काल अघि बढाइने जानकारी दिए ।

उनले आफ्नो निष्ठा, अनुभव, ज्ञान र सम्बन्ध सञ्जाल (नेटवर्क) को अधिकतम उपयोग गरी दुतावासको कार्यक्षमता अभिवृद्धि गर्ने बताए ।

प्रकाशित मिति २०८३ असोज २६ गते सोमबार ०२:३४
हजुरको प्रतिक्रिया