२०८३ असोज २६ गते सोमबार

विद्यालय बस दुर्घटना न्यूनीकरण र विद्यार्थी सुरक्षाका लागि पोखरामा ध्यानाकर्षण

विद्यालय बस दुर्घटना न्यूनीकरण र विद्यार्थी सुरक्षाका लागि पोखरामा ध्यानाकर्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २६ गते सोमबार ०४:५२

पोखरा — पोखरा महानगरपालिकाभित्र सञ्चालित विद्यालयका बसबाट हुने सडक दुर्घटना न्यूनीकरण तथा विद्यार्थीको सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। परिवर्तन नेपाल अभियान पोखरा र पोखरेली युवा क्लबले...

पोखरा —
पोखरा महानगरपालिकाभित्र सञ्चालित विद्यालयका बसबाट हुने सडक दुर्घटना न्यूनीकरण तथा विद्यार्थीको सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
परिवर्तन नेपाल अभियान पोखरा र पोखरेली युवा क्लबले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत विद्यालय बसको अवस्था, चालकको दक्षता तथा सडक सुरक्षा व्यवस्थापनमा गम्भीर बन्न आग्रह गरेका हुन्। उनीहरूले विद्यालय जाने तथा घर फर्कने क्रममा विद्यार्थीको सुरक्षित आवागमन सुनिश्चित गर्नु राज्यका सम्बन्धित निकाय, विद्यालय प्रशासन, यातायात सञ्चालक, चालक तथा अभिभावक सबैको साझा जिम्मेवारी रहेको बताएका छन्।
ध्यानाकर्षण पत्रमा विद्यालय बसमा विद्यार्थीको चाप, तीव्र गति, लापरबाहीपूर्ण सवारी सञ्चालन, सवारी साधनको प्राविधिक अवस्था तथा ट्राफिक नियमको पालनामा पर्याप्त निगरानी हुन नसक्दा दुर्घटनाको जोखिम बढ्न सक्ने उल्लेख गरिएको छ।
संगठनहरूले पोखरा महानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालयका बसको नियमित अनुगमन तथा निरीक्षण गर्न माग गरेका छन्। त्यस्तै बसको ब्रेक, टायर, बत्ती, ढोका लगायतका आवश्यक प्राविधिक पक्ष नियमित परीक्षण गरी मापदण्ड पूरा गरेका सवारीसाधन मात्र सञ्चालनमा ल्याउने व्यवस्था गर्न आग्रह गरिएको छ।


ध्यानाकर्षण पत्रमा निर्धारित गतिसीमा, ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गराउन, क्षमताभन्दा बढी विद्यार्थी राख्ने, जोखिमपूर्ण तरिकाले विद्यार्थी ओसारपसार गर्ने कार्य तत्काल नियन्त्रण गर्न पनि माग गरिएको छ।
त्यसैगरी विद्यालय बसमा विद्यार्थी चढाउने तथा ओराल्ने स्थानलाई सुरक्षित बनाउन आवश्यकताअनुसार सहायक वा विद्यार्थी सहयोगीको व्यवस्था गर्न, बसको नियमित रुट, समयतालिका तथा सञ्चालनसम्बन्धी विवरण व्यवस्थित गरी सम्बन्धित निकायबाट निगरानी गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ।


विद्यालय प्रशासन, चालक, सहचालक, अभिभावक तथा विद्यार्थीलाई सडक सुरक्षा र दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा विद्यालय बस दुर्घटनासम्बन्धी गुनासो र उजुरी प्राप्त गर्न प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने माग पनि गरिएको छ।
“बालबालिकाको जीवन अमूल्य छ। सानो लापरबाहीले विद्यार्थी, अभिभावक तथा समग्र समाजमा गम्भीर असर पर्न सक्छ,” ध्यानाकर्षण पत्रमा भनिएको छ। दुर्घटना भएपछि मात्र प्रतिक्रिया जनाउने नभई पूर्वतयारी, प्रभावकारी अनुगमन र नियमनमा जोड दिनुपर्ने उनीहरूको भनाइ छ।
परिवर्तन नेपाल अभियान पोखराका अध्यक्ष सरस्वती पुरी र पोखरेली युवा क्लबका अध्यक्ष अनुज अधिकारीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमार्फत सम्बन्धित निकायलाई मागहरू गम्भीरतापूर्वक लिएर आवश्यक कार्यान्वयन तथा समन्वय गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति २०८३ असोज २६ गते सोमबार ०४:५२
हजुरको प्रतिक्रिया