काठमाडौँ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।
उनले हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार परिरिष्कृत गर्दै लैजान आवश्यक रहेको बताए । सरकारले हुलाक कार्यालयमार्फत घरघरमा राहदानी पु¥याउने तथा अन्य सामग्रीको वितरण गर्न थालेपछि हुलाक सेवाको थप महत्व बढेको उनको भनाइ छ ।
उनले हुलाक सेवामा रहेका समस्याहरुलाई समाधान गर्दै जाने बताए । बजेट र प्रविधिसम्बन्धी सिमितताका कारण एकैपटक सबै क्षेत्रमा सुधार गर्न सम्भव नभएपनि क्रमशः उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर सेवालाई सहज बनाउनुपर्नेमा उनले जोड दिए ।
उनले, ‘हाम्रो जुन हुलाक प्रणाली ऐतिहासिक छ, यसका आफ्नै क्षमता र कमजोरीहरु होलान् । एक किसिमले चलिराको हुलाकलाई नयाँ सरकार आएर सरकारी कुरियर सेवाको रुपमा काम गर्नुपर्छ भनेर लागेको छ, यसमा तपाईंहरूले काम गरिराख्नु भएको छ । रातारात सबै सुधार हुँदैन, तर सुधार हुँदै गएको छ । सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत घर घरमा पासपोर्टहरू पुगेको छ । अन्य सामग्रीहरू पनि डेलिभरी हुन थालेको छ । यसले हुलाकको महत्त्व अझै पनि रहेछ र हुलाकले आजसम्म नगरेको थप थुप्रै काम गर्न सक्दोरहेछ भन्ने खालको सन्देश जनमानससम्म जान थालेको छ, त्यो सकारात्मक कुरा हो । जतिसुकै शक्तिशाली, आधुनिक देशहरूमा पनि हुलाक खारेज भएको छैन । हुलाकले गर्ने कामहरूमा परिमार्जन भएको होला, कामको प्रकृति फरक भएको होला, तर हुलाक खारेज भएको छैन भने देखि हाम्रो देशमा हुने कुरै भएन । आगामी दिनमा हामी सबैको मेहनतले हुलाकलाई अझ उठाउनुपर्छ । हामी हाम्रा कमजोरीहरूमा टेकेर नै उठ्ने हो, हाम्रो क्षमता पनि सीमित छ । त्यो एकैचोटि धेरै कुरा आर्थिक रुपमा पनि गर्न सकिँदैन । त्यो बजेटको कुरा होस् अथवा प्रविधिको कुरा होस्, तर हामी सही बाटोमा लाग्नुप¥यो । शतप्रतिशत दिनुप¥यो, हुलाकको क्षमता अभिवृद्धिको लागी, हुलाकलाई माथी उठाउनको लागि मन्त्रालय र समग्र सरकार एकदमै सकारात्मक छ । हुलाकलाई जनताको एउटा महत्वपुर्ण अङ्गको रुपमा विकास गर्नको लागि सरकार तयार छ, प्रतिवद्ध छ ।’
हुलाक सेवालाई प्रभावकारी बनाउन कर्मचारीदेखि नेतृत्व तहसम्म सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाई छ ।
संस्थाको सुधारमा मन्त्रालय र समग्र सरकार सकारात्मक रहेको उनले बताए । उनले हुलाकलाई आवश्यक सवारी खरिद प्रक्रियालाई अगाडी बढाउने पनि जानकारी दिए ।
साथै हुलाकमा रहेका अतिरिक्त कर्मचारीको बारेमा आवश्यक निर्णय गर्ने उनको भनाई छ । उनले आगामी दिनमा हुलाक सेवालाई दुई सिफ्टमा संचालन गर्नेगरि अध्ययन गर्ने बताए ।
प्रकाशित मिति २०८३ असोज २७ गते मंगलबार ०२:३८




