काठमाडौँ ।
ओमानका लागि प्रश्तावित नेपाली राजदुत पदमाक्षी राणाले नेपाल र ओमानबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चारवर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरेकी छिन् ।
मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले श्रम कुटनीति, आर्थिक साझेदारी र जलवायु कुटनीतिलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकताका रूपमा अघि सारेकी हुन् ।
संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित राजदुत राणाले नेपाल र ओमानबीच सन् १९७७ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै श्रम आप्रवासन दुई देशबीचको सम्बन्धको बलियो आधार रहेको उल्लेख गरिन् ।
परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार हाल करिव २५ हजार नेपाली ओमानमा कार्यरत छन् । आफ्नो कार्यकालमा नेपाली श्रमिकको हकहित, सुरक्षा र सीप विकासलाई उच्च प्राथमिकतामा राख्ने उनले प्रतिवद्धता जनाइन् ।
राणाले ओमानको ‘भिजन २०४०’ सँग नेपालको प्राथमिकतालाई जोडेर आर्थिक कुटनीतिलाई अघि बढाउने योजना पेश गरिन् । कृषि, पर्यटन, रिन्युएबल इनर्जी र वैदेशिक लगानी भित्र्याउने क्षेत्रमा उनले विशेष जोड दिइन् ।
तेस्रो प्रमुख आधारका रूपमा उनले ‘जलवायु कुटनीति’लाई प्रश्तुत गरिन् । ओमानले जलस्रोत व्यवस्थापन र हरित ऊर्जामा गरिरहेको काम नेपालका लागि सिक्न योग्य भएको भन्दै उनले दुवै देशले जलवायु परिवर्तनको असर न्युनिकरण र प्रकोप व्यवस्थापनमा सहकार्य गर्न सक्ने बताइन् ।
आफ्नो चारवर्षीय कार्ययोजनालाई उनले चरणवद्ध रूपमा अघि बढाउने प्रश्ताव गरिन् ।
जसअनुसार सन् २०२७ सम्म आधार तयार पार्ने, २०२८ मा साझेदारी विस्तार गर्ने, २०२९ मा सम्भाव्य क्षेत्रमा काम गर्ने र २०३० सम्म उपलब्धिहरूलाई दिगो बनाउने लक्ष्य राखिएको छ ।
प्रकाशित मिति २०८३ असोज २७ गते मंगलबार ०२:५०




