पोखरा, असोज २७
सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति, कास्कीको आयोजनामा ३३औँ सामुदायिक सन्देश बुलेटिन विमोचन, अन्तरक्रिया तथा विजया दशमी, शुभ दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। मंगलबार पोखरा महानगरपालिका–९, शान्तिवनस्थित संस्थाको सभाहलमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष भीम पराजुलीको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र घर्ती, सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविण कँडेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीलगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नंः२४ कालिका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बसन्तबहादुर सिंह, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका प्रमुख उपअनुसन्धान निर्देशक मोहनबहादुर कुँवर, सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा ३३औँ सामुदायिक सन्देश बुलेटिन विमोचन गर्दै शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, सामाजिक विकृति तथा विसंगति न्यूनीकरण गर्ने र प्रहरी–नागरिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले समुदायमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिकबीचको समन्वय, सहकार्य तथा जनचेतना अभिवृद्धिको महत्त्वबारे छलफल गरेका थिए।
कार्यक्रममा अध्यक्ष पराजुलीले सामुदायिक प्रहरी सेवाले समाजमा शान्ति सुरक्षा, सामाजिक सद्भाव र जनचेतना अभिवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले संस्थाका गतिविधिमा सहयोग तथा सहकार्य गर्ने सुरक्षा निकाय, संघसंस्था र सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रमको अवसरमा विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको थियो।
“विकृति विसंगतिरहित समाजको निर्माण, शान्ति सुरक्षा हाम्रो अभियान” भन्ने नारासहित संस्थाले समुदायमा सुरक्षित, सभ्य र शान्त समाज निर्माणका लागि आफ्नो अभियानलाई निरन्तरता दिँदै आएको छ।




