मुस्ताङ ।
यसपालिको दशैंमा मुस्ताङ मार्ग भएर ३५ करोड रुपैयाँ बराबरका भेडा र च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् । कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यो बाटो हुँदै कुल १३ हजार २७९ वटा भेडा र च्याङ्ग्रा बेसीतर्फ झारिएको हो ।
कार्यालयका प्रमुख डा लालमणि अर्यालका अनुसार निकासी भएका कुल चौपायामध्ये ११ हजार १६४ च्याङ्ग्रा र २ हजार ११५ भेडा छन् । यसमा मुस्ताङको आफ्नै उत्पादनका साथै कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ल्याइएका भेडाच्याङ्ग्रा समेत समावेश छन् । मुस्ताङबाट मात्रै २२ करोड रुपैयाँभन्दा बढीको निकासी भएको छ । बाँकी १३ करोड रुपैयाँ बराबरको भेडा, च्याङ्ग्रा र च्यालु (माउ) कर्णालीको डोल्पा, मुगु र जुम्लाबाट यो मार्ग हुँदै बिक्रीका लागि ल्याइएको अर्यालले बताए ।
बिक्रीका लागि झारिएका चौपायाको औसत मूल्य निर्धारण गरेर निकासी गरिएको हो । यस वर्ष च्याङ्ग्राको औसत मूल्य ३३ हजार रुपैयाँ, भेडाको २२ हजार रुपैयाँ र च्यालु (माउ) को १० हजार रुपैयाँ कायम गरिएको छ ।
मुस्ताङबाट मात्रै कुल ७ हजार ९६४ च्याङ्ग्रा र १ हजार २०४ भेडा बाहिरिएका हुन् । स्थानीय किसानले पालेका खोरपाला र तिब्बतबाट कोरलानाका हुँदै भित्र्याइएका ४०० भन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङका व्यापारीहरूले पोखरा तथा काठमाडौंका बजारसम्म पुर्याएका छन् ।
कर्णालीका अन्य जिल्लाबाट पनि ठूलो संख्यामा चौपाया मुस्ताङको बाटो हुँदै निकासी भएका हुन् । जसअन्तर्गत डोल्पाबाट २ हजार ६८० च्याङ्ग्रा र ८७१ भेडा निकासी गरिएको छ । यस्तै जुम्लाबाट ३०० च्याङ्ग्रा तथा मुगुबाट ३२० च्याङ्ग्रा र ४० वटा भेडा बिक्रीका लागि झारिएको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।
प्रकाशित मिति २०८३ कात्तिक ३ गते सोमबार ०६:१३




