२०८३ कात्तिक ११ गते मंगलबार

‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक ११ गते मंगलबार १२:३८

यसैगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत अत्यधिक जोखिम रहेको छ । यो बेला सकेसम्म लामो दूरीको यात्रा नगर्न, पदयात्राका योजना स्थगित गर्न तथा पाकेको बाली धान नकाट्न सल्लाह छ ।

पोखरा ।

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि बुधबार रातिदेखि पर्ने भएको छ ।

बिहीबार, शुक्रबार र शनिबार देशका विभिन्न ठाउँमा ठूलो वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिनमार्फत पर्सि बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै महाशाखाले शुक्रबार र शनिबार कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुन सक्ने चेतावनी दिएको छ ।

यसैगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत अत्यधिक जोखिम रहेको छ । यो बेला सकेसम्म लामो दूरीको यात्रा नगर्न, पदयात्राका योजना स्थगित गर्न तथा पाकेको बाली धान नकाट्न सल्लाह छ ।

मुख्य बाली धान काटेको भए तत्कालै भित्र्याउन र खेतमै भए अब मौसम खुलेपछि मात्रै काट्न र भण्डारण गर्न नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानलाई आग्रह गरेको छ ।

बंगालको खाडीमा रहेको गहिरो न्यूनचापीय प्रणाली हिजो चक्रवातमा परिणत भएको छ ।

‘अर्णव’ नाम दिइएको यो चक्रवात आज बेलुकासम्म भारतको विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा पुग्ने देखिएको भारतीय मौसम विभागले अनुमान गरेको छ ।

प्रकाशित मिति २०८३ कात्तिक ११ गते मंगलबार १२:३८
हजुरको प्रतिक्रिया