२०८३ कात्तिक ११ गते मंगलबार

वर्षाको सम्भावना देखिँदैमा आत्तिनुपर्ने अवस्था छैन, जोखिमयुक्त क्षेत्रमा सचेत भने रहनुपर्छः वरिष्ठ मौसमविद् विभूति पोखरेल

वर्षाको सम्भावना देखिँदैमा आत्तिनुपर्ने अवस्था छैन, जोखिमयुक्त क्षेत्रमा सचेत भने रहनुपर्छः वरिष्ठ मौसमविद् विभूति पोखरेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक ११ गते मंगलबार ०३:१३

वर्षाको सम्भवना देखिएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको उनको भनाई छ । तर जोखिमयुक्त क्षेत्रमा भने सचेतता अपनाउन आवश्यक रहेको उनले बताइन् । हिमाली क्षेत्रमा पर्यटकीय गतिविधि गर्नेहरू बढी जोखिममा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।

पोखरा ।

बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ ।

नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलकाअनुसार उक्त प्रणालीले पर्याप्त जलवाष्प बोकेर आउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा हुने सम्भावना छ ।

पोखरेलकाअनुसार बिहीबार बेलुकादेखि शनिवारसम्म उक्त प्रणालीको प्रभाव रहने प्रारम्भिक पूर्वानुमान गरिएको छ । यद्यपि, प्रणाली बंगालको खाडीमै रहेकाले यसको गति, तिब्रता र नेपाल प्रवेश गर्दाको अवस्थाअनुसार वर्षाको मात्रा तथा प्रभावमा परिवर्तन हुन सक्ने उनले बताइन् ।

वर्षाको सम्भवना देखिएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको उनको भनाई छ । तर जोखिमयुक्त क्षेत्रमा भने सचेतता अपनाउन आवश्यक रहेको उनले बताइन् । हिमाली क्षेत्रमा पर्यटकीय गतिविधि गर्नेहरू बढी जोखिममा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।

वर्षासँगै उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहन सक्ने उनले बताइन् । सकेसम्म हिमाली क्षेत्रमा यात्रा नगर्न उनले सुझाव दिइन् । त्यस्तै, पहिरोको जोखिम भएका स्थान तथा सडकखण्डमा यात्रा गर्ने सर्वसाधारणलाई पनि शतर्कता अपनाउन उनले आग्रह गरिन् ।

यस्तै धान काट्ने समय भएकाले वर्षाले कृषि क्षेत्रमा असर पार्न सक्ने उनको भनाइ छ । विभागले जारी गर्ने मौसमसम्बन्धी सुचना हेरेर मात्रै धान काट्न पनि उनले किसानहरुलाई आग्रह गरिन् ।

उनले भनिन्, ‘अहिले बिहीवारदेखि शनिवारसम्म वर्षा गराउने सम्भावना देखिएको प्रणाली बङ्गालको खाडी र अरब सागरमा विकसित चक्रवातको अवशेष हो । यो प्रणाली नेपाल नजिक आइपुग्दासम्म न्यून चापीय क्षेत्रका रूपमा रहन सक्छ, तर त्यतिबेलासम्म अझ कमजोर भइसकेको हुन सक्छ । यद्यपि, यस प्रणालीले पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा बोकेर ल्याउने सम्भावना छ । त्यससँगै माथिल्लो वायुमण्डलमा रहेको प्रणालीसँग यसको अन्तरक्रिया हुँदा वर्षा गराउने अवस्था सिर्जना हुन्छ । यसरी प्रणालीले ल्याउने जलवाष्प र माथिल्लो वायुमण्डलको अवस्थाको संयुक्त प्रभावले नेपालमा वर्षा हुन सक्छ । पछिल्लो पूर्वानुमानअनुसार वर्षाको तीव्रता केही कम हुने देखिएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने थोरै स्थानमा भारी वर्षा हुनसक्छ । उच्च हिमाली क्षेत्रमा भने अझै शतर्कता अपनाउन आवश्यक छ । त्यहाँ रहेका पर्यटकले सुरक्षित स्थानमा बस्नुपर्छ र माथिल्लो क्षेत्रबाट सुरक्षित स्थानतर्फ झर्नु उचित हुन्छ । हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्नु नै राम्रो हुन्छ । नेपाल नजिक आइपुग्दासम्म न्यून चापीय क्षेत्र अझ कमजोर भयो भने वर्षाको प्रभाव कम हुन सक्छ । तर प्रणाली अपेक्षाकृत शक्तिशाली रह्यो भने प्रभाव बढी हुन सक्छ । त्यसैले यसको गति, दिशासहित प्रणालीको अवस्थालाई निरन्तर अनुगमन गर्न आवश्यक छ । प्रणाली कति छिटो अघि बढ्छ भन्ने कुराले पनि वर्षाको समय र प्रभावमा फरक पार्न सक्छ । धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र थोरै स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ । त्यसैले अहिले नै आत्तिनुपर्ने अवस्था छैन, तर सतर्क भने रहनुपर्छ । विशेषगरी पर्यटन र कृषि क्षेत्रमा सावधानी अपनाउन आवश्यक छ । कृषि क्षेत्रमा पनि धान काट्ने समय भएकाले किसानले वर्षाको पूर्वानुमानलाई ध्यानमा राखेर आवश्यक तयारी गर्नुपर्छ । जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूले पनि विशेष सावधानी अपनाउनुपर्छ । जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकले विशेष सावधानी अपनाउनुपर्छ । पहिरो जाने सम्भावना भएका सडक तथा क्षेत्रमा यात्रा गर्दा सचेत रहनुपर्छ । मौसमको अवस्था र सडकको जोखिमलाई ध्यानमा राखेर मात्रै यात्रा गर्नुपर्छ । यद्यपि, अहिलेसम्मको पूर्वानुमानअनुसार वर्षा हुँदैमा आत्तिनुपर्ने अवस्था देखिएको छैन । तर जोखिमयुक्त क्षेत्रमा भने सतर्कता आवश्यक छ ।’

मनसुन सकिएपछि सुरु हुने पोस्ट–मनसुन अवधिमा पनि वर्षा हुनु सामान्य भएको उनले स्पष्ट पारिन् । अक्टोबर र नोभेम्बर सामान्यतः नेपालमा मौसम सफा रहने समय भएपनि यही अवधिमा बंगालको खाडी र अरब सागरमा चक्रवात विकसित हुने सम्भावना रहने उनले बताइन् ।

समुन्द्रमा विकसित हुने सबै चक्रवात वा न्युन चापीय प्रणाली नेपालसम्म आइपुग्ने नभएपनि उत्तरतर्फ सर्दै नेपाल नजिक आइपुगेका प्रणालीले वर्षा र हिमपात गराउन सक्ने उनको भनाइ छ ।

जलवायु परिवर्तनले नयाँ मौसमी घटना सिर्जना गर्नुभन्दा पनि यस्ता घटनाको आवृत्ति र तिब्रतामा प्रभाव पार्न सक्ने उनले बताइन् । यसको नियमित अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘मनसुन सकिएपछि अहिले हामी मनसुनपछिको सिजनमा छौँ । यो समयमा पनि वर्षा कसरी भयो भन्ने जिज्ञासा धेरैमा हुन्छ । यसलाई जलवायु परिवर्तनको प्रभावका रूपमा पनि हेरिएको हुनसक्छ । नेपालमा अक्टोबर–नोभेम्बर सामान्यतया मौसम राम्रो हुने समय हो । दसैँ–तिहारजस्ता ठूला चाडपर्व पनि यही समयमा पर्छन् । यद्यपि, बङ्गालको खाडी र अरब सागरमा चक्रवात विकसित हुने सिजन पनि यही हो । त्यहाँ विकसित भएका सबै चक्रवात वा न्यून चापीय क्षेत्र नेपालसम्म आइपुग्छन् भन्ने हुँदैन । तर, कुनै प्रणाली उत्तरतर्फ सर्दै नेपाल नजिक आइपुगेमा त्यसले वर्षा गराउन सक्छ । विशेषगरी, चक्रवात जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै उत्तर वा उत्तरपश्चिमतर्फ सर्दा त्यसको प्रभाव नेपालमा पनि पर्न सक्छ । यस्तो प्रणालीले वर्षा गराउनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत गराउन सक्छ । यस्ता घटना यसअघि पनि भएका छन् । त्यसैले अहिले नै नयाँ घटना भयो भन्ने होइन । जलवायु परिवर्तनको सन्दर्भमा हामीले ध्यान दिनुपर्ने मुख्य कुरा यस्ता घटनाको आवृत्ति र तिब्रता हो । जलवायु परिवर्तनले नयाँ प्रकारका घटना मात्रै निम्त्याउने होइन, पहिले पनि हुने गरेका घटनाको आवृत्ति र तीव्रतामा समेत परिवर्तन ल्याउन सक्छ ।’

उनले मौसमसम्बन्धी जानकारीका लागि विभागका आधिकारिक सूचना तथा सामाजिक सञ्जालबाट जारी हुने अद्यावधिक हेर्न आग्रह गरिन् । हल्लाको पछाडी लागेर त्रासमा नबस्न र हेलचेक्र्याई पनि नगर्न उनकको सुझाव छ ।

आधिकारिक सूचना र पूर्वानुमानका आधारमा आफ्नो गतिविधि तय गर्न उनले आग्रह गरिन् । उनले मौसमसम्बन्धी जानकारीका लागि सम्बन्धित सरकारी निकायसंग समन्वय गरिरहेको पनि जानकारी दिइन् ।

 

प्रकाशित मिति २०८३ कात्तिक ११ गते मंगलबार ०३:१३
हजुरको प्रतिक्रिया