२०८३ मंसिर ९ गते मंगलबार

पोखरा प्रज्ञा प्रतिष्ठानले थाल्यो लेख्छ पोखरा अभियान‍, सवै विधाका पाण्डुलिपि बुझाउन सकिने

पोखरा प्रज्ञा प्रतिष्ठानले थाल्यो लेख्छ पोखरा अभियान‍, सवै विधाका पाण्डुलिपि बुझाउन सकिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक २२ गते शनिबार ०१:१८

पोखरा । पोखरामा रहेका नयाँ तथा पुराना लेखकहरूको सिर्जनायात्रामा सघाउने उद्देश्यले पोखरा प्रज्ञा प्रतिष्ठानले लेख्छ पोखरा अभियान आरम्भ गरेको छ। अभियानको पहिलो चरणअन्तर्गत हरेक वर्ष पाण्डुलिपि आह्वान गरेर कम्तीमा तीन जना लेखकका...

पोखरा ।
पोखरामा रहेका नयाँ तथा पुराना लेखकहरूको सिर्जनायात्रामा सघाउने उद्देश्यले पोखरा प्रज्ञा प्रतिष्ठानले लेख्छ पोखरा अभियान आरम्भ गरेको छ। अभियानको पहिलो चरणअन्तर्गत हरेक वर्ष पाण्डुलिपि आह्वान गरेर कम्तीमा तीन जना लेखकका उत्कृष्ट पाण्डुलिपि पुस्तकका रूपमा छाप्ने र पुस्तक सार्वजनीकरणका दिन पुरस्कारसमेत अर्पण गर्ने तयारी गरिएको छ। यसरी चार वर्षमा कम्तीमा बाह्र जना लेखकको लेखन यात्राको सहयात्री बन्ने प्रतिष्ठानले जनाएको छ।

लेख्छ पोखरा अभियान–२०८३ का लागि प्रतिष्ठानले विभिन्न मापदण्ड पूरा गरी पाण्डुलिपि पेस गर्न आह्वान गरेको कुलपति सरस्वतिका प्रतीक्षाले जानकारी दिइन्। पाण्डुलिपि बुझाउनका लागि काव्य, आख्यान, गैरआख्यान, दर्शन र अनुसन्धानलगायत जुनसुकै विधाको कुनै सीमा तोकिएको छैन। पाण्डुलिपि बुझाउने लेखक जुनसुकै स्थानको भए पनि हाल पोखरामा रहेर सिर्जनायात्रा गरिरहेको हुनुपर्नेछ भने अस्थायी वा स्थायी बासिन्दाको कुनै सीमा र उमेरको हदबन्दी रहने छैन।

पेस गरिएका पाण्डुलिपिमध्येबाट तोकिएको छनोट समितिले छनोट गरेका उत्कृष्ट तीन पाण्डुलिपि पुस्तकाकार रूपमा प्रतिष्ठानले प्रकाशन गर्नेछ। उत्कृष्ट पाण्डुलिपि चयन गर्ने सर्वाधिकार छनोट समितिमा निहित रहेको छ। पुस्तक विमोचनको सम्पूर्ण जिम्मेवारी पनि प्रतिष्ठानले नै बहन गर्नेछ। विमोचनका दिन पहिलो पटक पुस्तक प्रकाशन गर्ने लेखक भए पोखरा प्रज्ञा नवोदित पुरस्कार र पहिले नै पुस्तक प्रकाशन गरिसकेका लेखक भए पोखरा प्रज्ञा पुरस्कार प्रदान गरिनेछ। उक्त पुरस्कारको राशि जनही ३० हजार रुपैयाँ रहेको छ।

छापिएको पुस्तक संख्याको ५० प्रतिशत पुस्तक प्रतिष्ठानले राख्नेछ भने बाँकी आधा पुस्तक लेखकस्वका रूपमा लेखकलाई नै बुझाइनेछ। विमोचनको दिन बिक्री गरिने पुस्तकहरू प्रतिष्ठानको भागमा परेका संख्याकै हुनेछन्। पुस्तकको सर्वाधिकार लेखकमा नै सुरक्षित रहनेछ। पाण्डुलिपि बुझाउने अन्तिम मिति सूचना प्रकाशन भएको ३ महिनाभित्र अर्थात् २०८३ माघ १८ गतेसम्म तोकिएको छ। लेख्छ पोखराको दोस्रो चरणमा लेखनसम्बन्धी कार्यशालाहरू आयोजना गरिनेछन्।

प्रकाशित मिति २०८३ कात्तिक २२ गते शनिबार ०१:१८
हजुरको प्रतिक्रिया