पोखरा । माछापुच्छ्रे गाउँपालिकाले महिलालाई सशक्तिकरण गराउन सवारी चालकको तालिम सञ्चालन गरेको छ ।
उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रम अन्तर्गत महिलालाई व्यवसायिक रुपमा चालक बनाउने उद्देश्य अनुरुप १८ जना महिलालाई एक महिने हलुका चारपाङ्ग्रे सवारी साधन चालकको लागि तालिम सञ्चालन गरेको माछापुच्छ्रे गाँउपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिइन् ।
“हामीले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । चालक तालिम पनि यसै अन्तर्गत शुरु गरेका हौ ।” दवाडीले भनिन् । महिलालाई परम्परागत सीप भन्दा अलि फरक प्रविधि र विकाससँग जोडेर महिला सशक्तिकरणका लागि तालिम दिएको उनको भनाई छ । तालिम विलासिताको लागि नभइ व्यवसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरेको यो तालिमले विस्तारै चालक पेशा महिलालाई प्रेरित अपेक्षा गाउँपालिकाको रहेको छ ।
दवाडीका अनुसार आर्थिक वर्ष २०७९/८० को महिला लक्षित कार्यक्रम अन्तर्गत पहिलो चरणमा उक्त तालिम सञ्चालन गरिएको हो । गाँउपालिकाले २५ वर्षदेखी ४० वर्ष उमेर समुहका एकल, दलित र विपन्न महिलालाई लक्षित गरेर आवेदन माग गरेको थियो । जसमा ६३ जना आकांक्षीले फर्म भरेका थिए भने १८ जना छनोट गरी तालिम प्रदान गरिएको हो । गाउँपालिकाले यसअघि महिलालाई निजामति सेवा प्रवेशका लागि लोकसेवा तयारीको कक्षा समेत सञ्चालन गरेको थियो । त्यसैगरी महिला सीपसँग जोडेर महिला उद्यमी समुह समेत गठन गरेको छ ।
स्थानीय उत्पादनलाई बजारीकरण गर्दै आर्थिक सशक्तिकरण गर्न गाउँपालिका र समुदायसँग मिलेर कोशेली घर निर्माणको कार्य पनि थालनी गरेको छ भने महिलाहरुकोलागि उच्च शिक्षा स्नातक तह छात्रवृद्धि सहयोग कार्यक्रम पनि लागू गरि सुचना प्रकाशन गरेको दवाडीले जानकारी दिइन्।
उनका अनुसार गाउँपालिकाको ५८ करोड बजेटमा विकास बजेट १० करोड छ । त्यसमा महिला तथा बालबालिकाको लागि २४ लाख रकम छुटाइएको छ ।
प्रकाशित मिति २०७८ पुस २६ गते सोमबार ०२:०७




