पोखरा ।
युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा जारी ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको दोस्रो खेलमा पुलिसले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
पुलिसले कोशीलाई २५–२०, २५–१८ र २५–१८ ले पराजित गर्दै लिग तालिकामा ३ अंक जोडेको छ । अघिल्लो खेलमा एपिएफसँग ३–२ को सेटमा पराजित पुलिसको लिग तालिकामा ४ अंक पुगेको छ ।
यसपछि बिहीबार नै अन्तिम खेलमा गण्डकी प्रदेश र एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।
आजको पहिलो खेलमा आयोजक किङ्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
राउण्ड रोबिन फर्म्याटमा जारी प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए ।
उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
प्रतियोगिताका सबै खेल पब्लिक फोरके टेलिभिजन र टेलिभिजनका प्रत्यक सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ ।
प्रकाशित मिति २०८३ मंसिर ११ गते बिहीबार ०१:१२





