२०८३ मंसिर ११ गते बिहीबार

फेवा किङ्स कप भलिबल: आयोजक किङ्स क्लब पोखराको लगातार दोसो जित

फेवा किङ्स कप भलिबल: आयोजक किङ्स क्लब पोखराको लगातार दोसो जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ११ गते बिहीबार ११:२७

आयोजकले आर्मीलाई ३५–३३, २५–२१ र २८–२६ सेटमा हराउँदै ३ अंक जोड्दै लिग तालिकामा शीर्ष स्थानमा पुगेको छ ।

पोखरा ।

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि सुरु भएको ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ मा आयोजक किङ्स क्लब पोखराले लगातार दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको खेलमा आयोजक टिमले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

आयोजकले आर्मीलाई ३५–३३, २५–२१ र २८–२६ सेटमा हराउँदै ३ अंक जोड्दै लिग तालिकामा शीर्ष स्थानमा पुगेको छ ।

फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ ।

बिहीबार नै दोस्रो खेलमा कोशी प्रदेश र नेपाल पुलिस, अन्तिम खेलमा गण्डकी प्रदेश र एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।

राउण्ड रोबिन फर्म्याटमा सञ्चालन भइरहेको प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए ।

उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।

प्रकाशित मिति २०८३ मंसिर ११ गते बिहीबार ११:२७
हजुरको प्रतिक्रिया