आरसीबी ९७ रनले पराजित
इन्डियन प्रिमियर लिग (आईपीएल) को छैटौँ खेलमा किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ९७ रनले पराजित गरेको छ । पञ्जाबका कप्तान लोकेश राहुलले नटआउट रहँदै सर्वाधिक १ सय ३२ रनको इनिङ्ग्स खेले । जितका लागि २०७ रनको लक्ष्य पछ्याएकाे आरसीबी पञ्जावका कप्तान लाेकेश राहुलले बनाएको ब्यक्तिगत स्कोरसम्म पनि पुग्न सकेन । आरसीबी १७ ओभरमा मात्र १ सय ९ रनमा आउट हुन पुग्यो ।
आईपीएलमा पञ्जाबको यो दोस्रो ठूलो जीत हो । यसअघि सन् २०११ मा बैंग्लुरुलाई नै १ सय ११ रनले हराएको थियो ।
बैंगलोरको शुरुवात खराब थियो । पहिलो ओभरमै देवदत्त एक रनमा क्याचआउट भए । लगत्तै अर्को ओभरमा जोश फिलिप खाता नखोली आउट भए । तेस्रो विकेटको रुपमा कप्तान विराट कोहली आउट भए । उनले पाँच बलमा केबल एक रन बनाउन सके । उनी शेल्डन कोट्रेलको बलमा क्याच आउट भए । लगातार तीन विकेट गुमेपछि बैंगलोर संकटमा थियो । पिचमा एरोन फिन्च र एबी डिभिलियर्स थिए । तर फिन्च २१ बलमा २० रन बनाएर आउट भए ।
पिचमा रहेका वाशिंग्टन सुन्दर र शिवम दुबेलाई स्कोर उकास्ने चुनौति थियो । तर शिवम दुबे १२ बलमा १२ रन बनाएर ग्लेन म्याक्सवेलको बलमा आउट भए । शिवम दुबेपछि क्रिजमा ब्याटिङमा आएका उमेश यादव खाता नखोली आउट भए । आरसीबीका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ३० रन बनाए । एबी डिविलियर्सले २८ तथा एरोन फिन्चले २० रन बनाए । पञ्जाबका लागि रवि विश्नोई र मुरुगन अश्विनले ३–३ विकेट लिए ।
२०७ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लुरुको सुरुवात निकै खराब रह्यो । उसले मात्र ४ रनमा तीन विकेट गुमाएको थियो ।
कप्तान केएल राहुलको प्रदर्शन शानदार रह्यो । उनले १४ चौका र ७ छक्काको मद्दतमा ६९ बलमा नटआउट १३२ रन बनाए । उनले सात चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए ।
पन्जाबको पहिलो विकेटको रुपमा मयंक अग्रवाल आउट भए । उनले २० बलमा २६ रन बनाए । पहिलो विकेट झर्दा पन्जाबको कूल स्कोर ५७ रन थियो ।
अग्रवाल आउट भएपछि कप्तान केएल राहुललाई साथ दिन आएका निकोलस पुरन आएका थिए । उनीहरुले टिमको स्कोर १२ औं ओभरमा १०० रनसम्म बनाए । तर १४ औं ओभरको पहिलो बलमै निकोलस पुरन शिवम दुबेको शिकार बने । १८ बल सामना गरेका उनले एक चौकाको मद्दतमा कुल १७ रन योगदान गरे । दोस्रो विकेट झर्दा पन्जाबको स्कोर ११४ रन थियो ।
तेस्रो विकेटको रुपमा ग्लेन म्याक्सवेल आउट भए । उनले ६ बलमा ५ रन मात्रै बनाउन सके । त्यतिबेला पन्जाबको स्कोर १२८ थियो ।
अब चार ओभर बाँकी थियो । केएल राहुल व्यक्तिगत ७२ रनमा खेलिरहेका थिए । कप्तान राहुललाई साथ दिन आएका थिए करुण नायर । उनको साथमा कप्तान राहुलले ६३ बलमा आफ्नो शतक पूरा गरे र पन्जाबले निर्धारित २० ओभरमा २०६ रनको योगफल बनायो ।
बैंगलोरका लागि डेल स्टेन सबैभन्दा महँगा सावित भए । उनले ४ ओभरमा ५७ रन दिएका थिए ।
पञ्जाबका कप्तान केएल राहुल ११ करोड रुपैयाँसहित टोलीको सबैभन्दा महँगो खेलाडी हुन् । उनले १४ चौका र ७ छक्काको मद्दतले १ सय ३२ रनको शानदारी पारी खेले । यो सिजनको पहिलो शतक हो । उनको शतकको मद्दतले पञ्जाबले ३ विकेटको क्षतिमा २०६ रन बनायो । राहुलको आईपएलमा दोस्रो शतक हो । योसँगै उनी आईपीएलमा सबैभन्दा ठूलो स्कोर बनाउने भारतीय बनेका छन् ।
त्यस्तै, आईपीएलमा सबैभन्दा चाँडो २ हजार रन पुरा गर्ने खेलाडी पनि बनेका छन् । उनले ६९ खेलमा ६९ इनिङमा यो कीर्तिमान आफ्नो नाम गरेका हुन् । यो रेकर्ड पहिले सचिन तेन्दुल्करको नाममा थियो ।
उता, बैंग्लुरुका सबैभन्दा महँगो खेलाडी विराट कोहली फेरि फ्लप साबित भए । १७ करोड मूल्य रहेका उनले फिल्डिङमा राहुलको दुईवटा क्याच छाडे भने मात्र एक रन बनाउन सके ।
प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार ०८:४०




