पाेखरा । आहा रारा गोल्डकपको २०औं संस्करण पोखरास्थित बन्द रंगशालामा बिहीबारबाट सुरु भएको छ । उद्घाटन खेलमा अहिले विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र आयोजक सहारा एकेडेमी प्रतिस्पर्धा गरिहेका छन् ।
१० टोली सहभागी प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बिनादर्शक खेल गराउनु नेपाली फुटबलको लागि उदाहरणीय र प्रशंसनीय कार्य भएको बताउनु भएकाे छ । ‘पोखरामा बिनादर्शकको खेल गराउँनु उदाहरणीय र प्रशंसनीय कार्य हो,’ अध्यक्ष शेर्पाले भन्नुभएकाे छ ।
हाल नेपालमा समेत कोभिड-१९ संक्रमण बढ्दै गएपछि स्थानीय सरकारले स्मार्ट लकडाउन घोषणा गरेका छन् । पोखरामा समेत संक्रमण बढ्दै गए पनि गण्डकी प्रदेश सरकारले प्रतियोगिता बन्द रंगशालामा गराउन निर्देशन दिएको थियो ।
जारी सहिद स्मारक ए डिभिजन लिगको नवौं चरण समाप्त भएसँगै लिग रोकिएको छ । नेपाल राष्ट्रिय टोलीले मौरिसससँग १५ र १८ माघमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । याे सँगै लिगले विश्राम पाएको छ भने मोफसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता आयोजक टोलीसहित मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लब, थ्री स्टार क्लब र भुटनीज सकर क्लबको सहभागिता छ ।
प्रकाशित मिति २०७८ माघ ६ गते बिहीबार ०४:२१




