२०साउन, पोखरा/ नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल निर्माण भएपछि अहिले सञ्चालनमा रहेको पोखरामा विमानस्थलमा व्यापारिक भवन र सरकारी आवास बन्ने भएको छ ।
सो विमानस्थलको वैकल्पिक प्रयोगको योजना बनाउन मात्र प्राधिकरणले यस आवमा २० लाख रुपैयाँ बजेट खर्च गरेर परामर्श सेवा लिने भएको छ । प्राधिकरणले चालु आवको बजेटमा सो व्यवस्था गरेको हो ।
प्राधिकरणले पुरानो विमानस्थल क्षेत्रभित्रै कर्मचारी आवास गृह बनाउने गरी चालु आवमै बजेट राखेको छ । बहुवषिर्य आयोजना अन्तर्गत यस विमानस्थल क्षेत्रमा आवास गृह बनाउन ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
प्राधिकरण स्रोतका अनुसार अहिले आवास गृह अगाडि बढाइहाल्ने योजना छ । अन्य योजना भने परामर्शदाता कम्पनीबाट प्राप्त हुने प्रतिवेदनका आधारमा अगाडि बढाइने छ ।
प्राधिकरणले पोखराको पुरानो विमानस्थल क्षेत्रभित्रै बहुउद्देश्यीय व्यापारिक भवन समेत बनाउने योजना बनाइरहेको छ । ‘पार्कसहितको संरचना बनाउने र त्यसमा क्याफे, रेष्टुरेन्टहरुसहितको व्यवसायिक गतिविधि सञ्चालनको सोच बनाइएको हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘पुरानो विमानस्थलको प्रयोग गर्ने सम्बन्धी योजनामा यसलाई समेट्छौं ।’
पोखरामा ११ सय ५६ रोपनी क्षेत्रफलमा २०१५ सालबाट विमान सेवा सुरु भएको हो । पर्यटकीय राजधानी मानिने पोखरा धेरै यात्रुले यात्रा गर्ने आन्तरिक विमानस्थलमध्ये एक हो । पोखराको अहिले सञ्चालनमा रहेको विमानस्थलमा ११४४ मिटर लम्बाई र ३० मिटर चौडाईको धावनमार्ग रहेको छ ।
यो विमानस्थलमा अहिले एटीआर ७२ क्षमताका जहाजहरुको उडान अवतरण भइरहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार ‘क्याटवरी ४’ स्तरको ‘रेक्यू तथा फायर फाइटिङ’ सेवा यहाँ उपलब्ध रहेको छ ।
यो विमानस्थल ‘भिजुअल फ्लाइट रुल प्रणालीमा मात्र सञ्चालनमा रहेका कारण यहाँ रात्रिकालीन उडान भने हुँदैन । यो विमानस्थल क्षेत्रीय उडानका लागि हव गन्तब्यका रुपमा स्थापित भएको छ ।
प्रकाशित मिति २०७९ साउन २० गते शुक्रबार ११:२१




