नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले २०५४ सालपछि पार्टी फुटका कारण अप्ठेरो परिस्थितिमा रहेको एमाले अहिलेको चुनावमा पनि अप्ठेरो परिस्थितिमा रहेको बताएका छन् । अप्टेरो परिस्थितिका बाबजुद पनि एमाले चुनावको तयारीमा रहेको पाण्डेको भनाइ छ ।
नेकपा विभाजनको क्रम सँगसँगै एमालेभित्र पनि विभाजनको स्थिति उत्पन्न भएको र सानै हिस्सा वा सानै संख्यामा गएको भए पनि त्यसले विभाजनको छाप छाडेको र जनतामा प्रभाव पनि परेको पाण्डेले बताए ।
‘अहिले हामाी २ कुरासँग एक साथ जुध्नुपरेको छ । २०६५ सालमा भएको चुनावमा पार्टी विभाजित भए पनि हाम्रा विरुद्धमा कसैको गठबन्धन थिएन । अहिले हामी विभाजनको अवस्थामा पनि पर्ने र सँगसँगै विभिन्न दल मिलेर गठबन्धन पनि गर्ने २ चुनौति हाम्रा सामु छन्,’ पाण्डेले भने, ‘यी दुबै चुनौतिलाई हामीले गम्भीरता पूर्वक एनलाइसिस गरेका छौं ।’
पार्टी विभाजन र गठबन्धबाट पर्न सक्ने प्रभावको अध्ययन गरिरहेको र त्यसलाई कसरी परास्त गर्ने भन्ने प्रयासमा पनि एमाले रहेको पाण्डेले बताए । पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले गठबन्धन मुलुकका निम्ति आफैं समस्या बनेर आउन सक्ने बताए ।
‘गठबन्धनबाट मुलुकले समाधान पनि नपाउने, गठबन्धन केका लागि भन्दा समस्या समाधानको लागि भन्ने तर गठबन्धन आफैं समस्या बनेर आयो भने न त मुलुकले समाधान पायो न कुनै एउटा दललाई अगाडि बढ्नका लागि बाटो खोलियो,’ पाण्डेले भने, ‘यो गठबन्धनले मुलुकलाई थप संकटतिर पनि लान सक्छ ।’
अहिलेको राजनीतिक समस्याको समाधान अबको चुनावले पनि गर्न नसक्ने आशंकाकै बीचमा चुनावमा गइरहेको पाण्डेले बताए । आउने ५ वर्षले यसअघि भएका राजनीतिक अस्थिरता समाधान गर्न सक्यो भनेमात्रै देशले सही दिशा लिने पाण्डेको भनाइ छ ।
प्रकाशित मिति २०७९ भदौ ५ गते आइतबार ११:१०




