२०८३ असोज २३ गते शुक्रबार

मन्त्री मनाङेले किन भने नवौं आयोजना गर्न सक्दैनौं ?

मन्त्री मनाङेले किन भने नवौं आयोजना गर्न सक्दैनौं ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ भदौ १५ गते बुधबार ०७:४९

पोखरा गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले पर्याप्त बजेटको व्यवस्था नगरिए गण्डकीमा नवौं राष्ट्रिय खेलकुद हुन नसक्ने बताएका छन् । उनले आफूहरुले मागेकोभन्दा ४ करोड रुपैयाँ कम बजेट पठाएकोसमेत बताए । उनले...

पोखरा
गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले पर्याप्त बजेटको व्यवस्था नगरिए गण्डकीमा नवौं राष्ट्रिय खेलकुद हुन नसक्ने बताएका छन् ।

उनले आफूहरुले मागेकोभन्दा ४ करोड रुपैयाँ कम बजेट पठाएकोसमेत बताए ।

उनले नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ माग गरेकोमा साढे ३ करोड रुपैयाँमात्रै दिएको बताए । उनले राखेपले छुट्याएको ६० करोड रुपैयाँसमेत प्रदेशले नपाएको दाबी गरेका छन् ।

‘मैले त पहिल्यैदेखि यो राष्ट्रिय खेलकुद हुँदैन भन्दै आएको छु । कसैले वास्तै गरेन । हामीले मागेको एक रुप्पे पनि आएन,’ मन्त्री मनाङेले भने, ‘खेलाडीले डाइट त परको कुरा, कार्यक्रम गरेर खाजा खाने पैसासमेत छैन ।’

उनले आवश्यक बजेट बिना काम गर्दा भोलि मन्त्रालयलाई नै ठगी मुद्दा लाग्ने जिकिर गरे । ‘पैसा नै नभए ठगी मुद्दा लाग्छ, कि उनीहरुले मुद्दा हाल्दिनँ भनेर सबैले साइन गर्नुप¥यो,’ उनले भने, ‘खा’को पैसा, क्लोज क्याम्पको पैसा कसले तिरिदिन्छ ? ६० करोड रुपैयाँ खै ?’

आफ्नो योजनाअनुसार काम नभएपछि नवौंमा आफू संलग्न नहुनेसमेत मन्त्री मनाङेले घोषणा गरेका छन् । उनले सबै जिम्मा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङलाई दिएको सुनाए । ‘गाली खाए पनि, स्याबास पाए पनि उहाँले नै हो । मैले त हात झिकिसकें,’ उनले भने ।

पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले पनि प्रतियोगिताका लागि छनोट र बन्द प्रशिक्षणका लागि ७ करोड ८५ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान रहेको सुनाए । ‘अझै पनि ढेड करोड रुपैयाँ अपुग हुन्छ,’ उनले भने, ‘अपुग रकम प्राप्त भएमामात्रै हामीले काम गर्न सक्छौं ।’

नवौंका लागि गण्डकीबाट ६ खेललाई हाइअल्टिट्युड बन्द प्रशिक्षणका लागि मनाङ लगिने छ । भलिबल, बास्केटबल, कराते, आइटिएफ तेक्वान्दो, फल कन्ट्याक कराते र तेक्वान्दो खेलका एक सय जना खेलाडीलाई मनाङ लगिने सदस्य सचिव गुरुङले जानकारी दिए ।

खेलाडीले मनाङमा असोज १ गतेदेखि १५ दिनसम्मका लागि उच्च भेगमा बन्द प्रशिक्षण लिनेछन् ।

प्रकाशित मिति २०७९ भदौ १५ गते बुधबार ०७:४९
हजुरको प्रतिक्रिया