पोखरा
पर्यटकीय सहर पोखरामा भेगन महोत्सव हुने भएको छ । नेपालमै पहिलो पटक आयोजना गरिएको भेगन महोत्सव काठमाडौँ, लुम्बिनी र पोखरामा हुँदैछ ।
त्रिदिवसीय रुपमा हुने महोत्सव पोखरामा असोज २ देखि ४ गतेसम्म हुने सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो । वनस्पतिमा आधारित खानपानसँग सम्बन्धित रहेर महोत्सव हुनेछ ।
पोखराको होटल ग्रान्डमा हुने महोत्सवमा एक सयभन्दा बढी अन्तर्राष्ट्रिय वक्ताहरुले भेगनबारेको ज्ञान, अनुभवबारे प्रवचन दिने नेपाल भेजिटेरियन सोसाइटी पोखराका अध्यक्ष ऋषिराम सापकोटाले बताए । उनका अनुसार सूचनामूलक प्रदर्शनी, भेगन खानाका स्टल, भेगन खाना बनाउने कार्यशाला कक्षा, पाक शिक्षा प्रदर्शनी, लघु चलचित्र प्रदर्शन हुनेछ ।
महोत्सवले भेगन पर्यटकका लागि नेपाललाई प्रमुख गन्तव्य बनाउन सक्ने सापकोटाको भनाइ छ । ‘भेगन पर्यटक बढेसँगै लगानी बढ्ने र भेगन सामग्रीहरुलाई निर्यात गर्न सकिन्छ’, उनले भने ।
मानव शरीर र प्रकृतिका लागि भेगन खानपान आवश्यक रहेको वल्र्ड भेगन अर्गनाइजेसन नेपालका कार्यकारी अध्यक्ष विष्णुुप्रसाद न्यौपाने बताउँछन् । अण्डा माछामासुु रोगको कारक भएको उनको भनाइ छ । ‘ग्लोबल वार्मिङको ५१ प्रतिशत कारण मांसहारी हुुन्’, उनको दाबी छ । माछामासुुले भन्दा भिगनले शरीरलाई प्रोटिन दिने उनले बताए ।
प्रकाशित मिति २०७९ भदौ २७ गते सोमबार ०५:१९




