गण्डकी प्रदेश सरकारले बढाएको घरजग्गा तथा सवारी साधन करको दर अघिल्लो वर्षकै कायम भएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले यो आर्थिक वर्षदेखि बढेको ४ शीर्षकका करको दर पुरानै कायम गर्ने निर्णय गरेको हो ।
गण्डकीका अर्थमन्त्री रामजी बरालले असार १ गते बजेटसँगै पेश गरेर ३० गते पारित भएको आर्थिक ऐनले करका दरहरु बढाएको भन्दै चौतर्फी बिरोध भएको थियो । त्योबेला करका दर संशोधन गर्ने कुनै संकेत नदेखाएको सरकारले चुनावको मुखमा आएर करका दरहरु पुरानै कायम गरेको हो ।
करको दर घटाउने सन्दर्भका एउटा शीषर्कबाहेकमा अर्थमन्त्री बरालले अस्वीकार गरेका थिए । तर, मुख्यमन्त्री पोखरेलको ठाडो प्रस्तावमा करको दर घटाउने निर्णय भएको हो ।
सरकारले अंशबण्डा तथा अंश भर्पाइ, नामसारी, सवारी कर घटाएको छ । सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई सहुलियत दिएबापत व्यवसायीलाई यसअघि ६० प्रतिशत छुट दिने गरिएकोमा यो वर्षदेखि ३३ प्रतिशतमा झारिएको थियो । यो व्यवस्थालाई पुरानै कायम गर्न अर्थमन्त्री बरालले मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेका थिए । योबाहेकका विषयमा उनी विपक्षमा थिए ।
मुख्यमन्त्रीको ठाडो प्रस्तावमा पारित भएको निर्णयअनुसार अब अंशबण्डा तथा अंश भर्पाइमा बसेको कर सेवाग्राहीले तिर्न पर्नेछैन भने ३ पुस्ताभित्र र बाहिर नामसारी गर्दा लाग्ने शुल्क पनि अघिल्लो वर्षजति नै तिरे पुग्ने भएको छ ।
अब गण्डकी प्रदेश भरीका सेवाग्राहीले पुरानै सवारी कर तिर्न पाउने भएका छन् ।
प्रकाशित मिति २०७९ असोज ८ गते शनिबार ०९:१९




