२०८३ असोज २३ गते शुक्रबार

लेखक युग पाठकद्धारा ‘उत्स्रवण’ आन्दोलनको घोषणा

लेखक युग पाठकद्धारा ‘उत्स्रवण’ आन्दोलनको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ९ गते आइतबार ०४:०१

झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्वाचन लड्ने घोषणा गर्दै उनले शनिबार उत्स्रवण आन्दोलनको घोषणा गरेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्वाचन लड्ने

लेखक तथा विश्लेषक युग पाठकले नेपाली राजनीतिमा नयाँ आन्दोलनको घोषणा गरेका छन् । झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्वाचन लड्ने घोषणा गर्दै उनले शनिबार उत्स्रवण आन्दोलनको घोषणा गरेका हुन्।

पाठकले जनताको राजनीति जनतातर्फ नै फर्काउने र सबैको शिर उठाउने वैचारिक आन्दोलनको घोषणा गरेका हुन्। जसलाई उनले उत्स्रवण आन्दोलनको नाम दिएका छन्। झापा–५ बाट उम्मेदवारी घोषणा गर्दै यहीँबाट आन्दोलनको सुरुवात भएको उद्घोष गरे। ‘यो आन्दोलन झापा–५ बाट सुरु भयो। आन्दोलन देशभर हुँदै अन्तर्राष्ट्रिस्तरसम्म पुग्नेछ,’ पाठकले भने।

पाठकले यही अवस्था रहे देश भयावह अवस्थामा पुग्ने चेतावनी दिए। ‘देश रेमिट्यान्सले चलेको छ। देशमा कृषि गर्नेको शिर निहुरिएको छ। बाहिरबाट आएको रेमिट्यान्सले बाहिरबाटै आयतीत खाद्यान्न खाएर बाँचिएको छ,’ उनले भने, ‘रेमिट्यान्स आउने ठाउँमा केही भएर हाम्रा दाजुभाइ फर्कनुभयो भने, खाद्यान्न आउन छाड्यो भने, सोच्नुस् त के हुन्छ ? त्यसकारण अब पुरानो विचारले काम गर्दैन नयाँ विचार ल्याउन जरुरी भएर मैले उम्मेदवारीसँगै यो आन्दोलनको घोषणा गरेको हुँ।’

नयाँ वैचारिक आन्दोलनको संकेतस्वरूप लाल्टिन बालेर जनताको घरसम्म नयाँ विचार लिएर पुग्ने उनले बताए। ‘खडेरी परेको जमिनले विरुवा उमार्दैन। विचारको खडेरी परेको समाजले सपना जगाउँदैन। त्यसैले हामी बत्ती बालेर एउटा यात्रामा निस्कँदै छौँ,’ उनले भने, ‘उत्स्रवण आन्दोलनको पहिलो निष्कर्ष मानव संसार आज दार्शनिक संकटमा छ। आजन्म विकास र प्रयोग भएका दार्शनिक प्रणालीहरू आजका ज्वलन्त समस्या समाधान गर्न सक्षम छैनन्।’

अहिले राजनीति विचारले नयाँ पुस्ताका निम्ति सपना फुलाउन नसक्ने बताए। उनले युरोपको उपनिवेशले विश्व संकटमा परेको भन्दै यसको समाधानका लागि जनताको राजनीति जनतातर्फ नै फर्काउनुपर्ने बताए। पाठकले जनता, प्रकृतिको शिर उठाए मात्र सफल हुन सक्ने बताए। उनले आफ्नो पहिलो प्राथमिकता कृषि भएको बताए। कृषिको आधुनिकीकरण नामको नक्कली कार्यक्रममार्फत हालसम्म कृषिलाई ध्वस्त पारिएको बताए।

प्रकाशित मिति २०७९ असोज ९ गते आइतबार ०४:०१
हजुरको प्रतिक्रिया