पोखरा
कास्कीको मादी गाउँपालिकाको थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा एकजना जनप्रतिनिधिसहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मादी–१ का वडा सदस्य खरजंग गुरुङसहित मादी गाउँपालिका वडा नं. १७ थाक बस्ने ३५ वर्षीय रमेश गुरुङ, सोही स्थानमा बस्ने २६ वर्षीय निरज तामाङ, र जिल्ला लम्जुङ मध्यनेपाल नगरपालिका–८, स्थायी घर भई हाल जिल्ला कास्की पोखरा वडा नं. १३ बस्ने २३ वर्षीय को रिदम भन्ने सुनिल परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका गुरुङ नेपाली कांग्रेसबाट जनप्रतिनिधिमा निर्वाचित भएका हुन् ।
ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरी मादी गाउँपालिकाकै वडा नं. ५ तर्फ ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले असोज ५ गते मध्यरातमा पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । ‘थपअनुसन्धानका लागि ६ दिनको म्याद थप गरिएको छ,’ उनले भने ।
चोरी गरिएको पाइप करिब १४ लाख रुपैयाँ बराबर अनुमान छ ।
प्रकाशित मिति २०७९ असोज ९ गते आइतबार ०७:०४




