२०८३ असोज २३ गते शुक्रबार

पर्यटन दिवसमा पोखरामा पर्यटकको स्वागत

पर्यटन दिवसमा पोखरामा पर्यटकको स्वागत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ११ गते मंगलबार ११:०१

पोखराको पर्यटनलाई विश्व बजारमा पुर्याउन अन्तर्राष्ट्रिय उडान गरेका एयरलाइन्सका ‘कन्ट्री म्यानेजर’ हरुसँग अन्तरक्रिया गरिने

पोखरा

विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी आज मनाइँदै छ । पोखरामा पनि विभिन्न संघ संस्थाले विविध कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्ले संयुक्त कार्यक्रम आयोजना गरेका छन् ।

४३ औं विश्व पर्यटन दिवसमा आज बिहान पोखरा विमानस्थलमा पर्यटकलाई स्वागत गरिएको छ । पोखरा विमानस्थलमा इटालियन र भारतीय पर्यटकलाई स्वागत गरिएको हो । मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पाेमनारायणा श्रेष्ठ लगायतले पर्यटकलाई स्वागत गरेका थिए । बिहानै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन पनि गरिएको  परिषद् अध्यक्ष श्रेष्ठले बताए ।

पोखरा पर्यटन परिषदले ‘पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट र विश्व पर्यटन बजार’ विषयमा कार्यक्रम गर्न लागेको परिषदका महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए । उनका अनुसार पोखराको पर्यटनलाई विश्व बजारमा पुर्याउन छिमेकी मुलुक भारतका विभिन्न सहरबाट १० पत्रकारलाई पोखरामा पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण समेत गराइएको छ । अन्तर्राष्ट्रिय उडान गरेका एयरलाइन्सका ‘कन्ट्री म्यानेजर’ हरुसँग अन्तरक्रिया गर्ने कार्यतालिका पनि रहेको उनले बताए ।२४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएकोमा १० एयरलाइन्सका प्रतिनिधि कार्यक्रमका सहभागी हुनेछन् ।

आज लेकसाइडमा एक दिने सडक महोत्सव

विश्व पर्यटन दिवसको अवसरमा आज पोखरामा १ दिने सडक महोत्सव हुने भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले ‘पर्यटनमा पुनर्विचार गरौ’ भन्ने नारासहित सडक महोत्सव गर्न लागेको हो । लेकसाइड क्षेत्रको फिस्टेल गेटदेखि वाराहीचोकसम्मको क्षेत्रमा बेलुका ५ बजेदेखि राति १० बजेसम्म महोत्सव हुने रेबान महासचिव एवं कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुन लागेको महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार राखिने छन् । जातीय भेषभूषासहितको सांस्कृतिक नृत्य, गन्धर्व गायन, नेवारी लाखे नाँच, पञ्चे बाजा र साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्र प्रदर्शनी गरिनेछ ।

 

प्रकाशित मिति २०७९ असोज ११ गते मंगलबार ११:०१
हजुरको प्रतिक्रिया