पोखरा
प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन आज हुँदैछ । आगमी मंसिर ४ गते हुने निर्वाचनको लागि बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयनको समयसिमा तोकिएको निवाचन आयोगले बताएको छ ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा २५ जना भन्दा बढीको जुलुस जान नपाइने बताएको छ । क्षेत्रगत रुपमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाइएको छ । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन हुनेछ ।
चुनावमा दुई गठबन्धनबीच प्रतिष्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन बनेको छ भने एमाले नेतृत्वमा जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धन बनेको छ । निर्वाचन अधिकृतको कार्यालयमा आज मनोनयनपत्र दर्ता गराएको उम्मेदवारको सूची साँझ ७ बजेसम्म सार्वजनिक गर्ने कार्यक्रम छ । उम्मेदवारको विरोधमा सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने छ ।
२४ गते सोमबारै ३ बजेदेखि मंगलबार ५ बजेसम्म मनोनयनपत्र र उजुरीको जाँचबुझ गरी निर्णय लिने निर्वाचन कार्यक्रम रहेको छ । मंगलबार साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्नुपर्ने हुन्छ । बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । त्यही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।
प्रकाशित मिति २०७९ असोज २३ गते आइतबार ०७:४३




