तनहुँ: तनहुँ क्षेत्र नं १ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेको तर्फबाट एकबहादुर रानाको उम्मेदवारी दर्ता भएको छ । तनहुँ -१ (क) मा रामबहादुर गुरुङ र तनहुँ – १ (ख) मा पुर्णबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । दिउँसो ३ बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
एकबहादुर एमालेको केन्द्रिय सल्लाहाकार परिषद्का सदस्य हुन् । उनी केपी ओली नेतृत्वको सरकारमा भूमि आयोगको केन्द्रिय सदस्य भएका थिए । व्यवसायीक पृष्ठभूमीका गुरुङले अघिल्लो पटक पनि तनहुँ-१ (क) बाम गठबन्धनका तर्फबाट उम्मेदवार भएर विजयी भएका हुन् ।
तनहुँ-१(ख) मा एमालेबाट उम्मेदवारी दिएका पुर्णबहादुर गत साता मात्रै कांग्रेसबाट एमाले प्रवेश गरेका हुन् । कांग्रेसका महासमिति सदस्य उनले पार्टीले टिकट नदिने संकेत पाएपछि पार्टी परित्याग गर्दै बालकोट पुगेर एमाले प्रवेश गरेका थिए । तनहुँ-१ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेद्वारी दिदैछन् । तनहुँ-१ (क) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र तनहुँ-१ (ख) मा माओवादी केन्द्रका हरिबहादुर चुमानको उम्मेदवारी दिदैछन् ।
प्रकाशित मिति २०७९ असोज २३ गते आइतबार ०३:५६




