तनहुँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशका लागि केही बाँकी रहेकाले उम्मेदवारी दिएको बताएका छन् । तनहुँ १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गर्न आएका पौडेलले पत्रकारलाई प्रतिक्रिया दिदैँ लोकतन्त्रका लागि केही बाँकी रहेको बताए । उनले भने, ‘नेपालको लोकतन्त्र, राजनीतिक अवस्थालाई फेरी पनि अस्थिर बनाउने षडयन्त्र भइरहेका छन् । मुलुकलाई पछाडीतिर धकेल्ने कोशिषहरु भइरहेका छन । प्रतिगमन मुन्टो उठाउन खोज्दैछ ।’ पौडेलले प्रतिगमानबाट देशलाई जोगाउन जरुरत रहेको दाबी गरे । जनताको उत्थानका लागि परिवर्तनलाई जोगाउनुपर्ने उनको भनाई छ । शुसासन कायम गर्दै गाउँ गाउँमा रोजगारी सिर्जना गर्ने उनको दावी छ ।
तनहुँको बुल्दीखोलाबाट गठबन्धनको सुरुवात भएको बताउदै उनले गठबन्धन नै जित्ने आधार भएको संकेत गरे । पौडेलको यो चुनावी यात्रा सातौँ हो । उनी २०४८ सालदेखी लगातार चुनाव लडिरहेका छन् । २०४८ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट पौडेल विजयी भए । २०५१ सालमा उनले निर्वाचन क्षेत्र फेर्दै क्षेत्र नम्बर २ बाट विजयी भए । २०५६, २०६४, २०७० मा उनी क्षेत्र नम्बर २ बाट नै विजयी भएका हुन् । संघीय पुर्नसंरचना अनुसार २०७४ को चुनावमा तनहुँमा दुई वटा मात्रै क्षेत्र कायम भयो । छैठौँ पटकको चुनावी मैदान उनी क्षेत्र नम्बर १ बाट उत्रिए । तर उनको विजयी यात्रामा भने ब्रेक लाग्यो । पौडेल तत्कालिन वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका तत्कालिन नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित हुनुपरयो । पौडेललाई श्रेष्ठले ६ हजार ८०२ मतान्तरले पराजित गरेका हुन् । किसानले ३४ हजार ४९२ र पौडेलले २७ हजार ६९० मत पाएका थिए । हाल श्रेष्ठ एमालेबाट विभाजन भएर स्थापति नेकपा एकिकृत समाजवादी पार्टीमा छन् । उनले तनहुँ छाडेर बारा ४ बाट लड्दैछन् । सातौं चुनावी यात्रा पनि पौडेललाई त्यति सहज देखिदैन् । नेपाली कांग्रेसबाट निष्कासित पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले पनि पौडेलकै क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराइसकेका छन् । जोशीले अघिल्लो पटक पनि उम्मेदवारी दर्ता गराएका थिए । तर उनको उम्मेदवारी निर्वाचन आयोगले अयोग्य ठहर गर्दै रद्ध गरेको थियो ।
पौडेल विरुद्ध नेपाली काङ्ग्रेसका पुर्व जिल्ला सचिव विश्व बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पौडेल निकट मानिने बास्तोलाले उम्मेदवारी दिएपछि उनलाई धेरथोरै असर गर्ने देखिन्छ । यस्तै, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेपनि अन्तिम समयमा पछि हटेका छन् । भट्टराईले लागि प्रतिनिधिलाई मनोनयन दर्ता स्थलमा पठाएपछि अन्त्यमा उम्मेदवारी दिने निर्णयबाट पछि हटेका हुन् । काङ्ग्र्सले समानुपातिकको बन्दसुचीमा राखेको थियो । भट्टराईले बन्दसुचीबाट नाम फिर्ता लिएका छन् । टिकट नपाएको भट्टराईले पनि पौडेललाई असहयोग गर्ने स्थिती नआउला भन्न सकिदैन ।
प्रकाशित मिति २०७९ असोज २३ गते आइतबार ०६:००




