पोखरा । विश्वमा प्रत्येक ७ जना मध्ये १ जनाले मानसिक स्वास्थ्य समस्या अनुभव गर्ने गरेको तथ्य छ । नेपालमा भने कुल जनसङ्ख्याको २५ प्रतिशतलाई कुनै न कुनै किसिमको मनोसामाजिक समस्या भई विभिन्न अस्पतालहरुमा जाने गरेको अभिलेखहरु छ । यस्तै ३ लाख जनसङ्ख्या कडा किसिमको मानसिक समस्याबाट हाल जुधिरहेको तथ्य छ ।
वरिष्ठ मानसिक रोग विशेषज्ञ डा राजन शर्माका अनुसार हरेक व्यक्तिको जीवन कुनै एक समयमा मानसिक समस्या आउने गर्दछ । उनले आफन्त अथवा साथीभाइमा कसैको व्यवहार एक्कासी परिवर्तन हुने, टोलाउने, चिन्तामा बसिरहने लगायतका लक्षणहरु देखापरेमा उसमा केही समस्या भयो कि भन्ने हेक्का राख्नुपर्ने बताए । उनले बेलैमा उपचार मिले मानसिकका बिरामी ठिक हुने पनि बताए । उनले भने, “सुरुवाती चरणमा लक्षण देखा पर्न साथ उपचारका लागि जानुपर्छ । बेलैमा उपचार पुगे बिरामी ठिक हुन्छन् ।”
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था कोशिश नेपालको पोखरा शाखाका परियोजना संयोजक सुदिप घिमिरेका अनुसार युवाहरु बढी मानसिक स्वास्थ्य समस्या लिएर आउने गरेको बताउँछन् । उनले भने, “विशेष गरि कलेज पढेका भाइबहिनी मानसिक समस्या लिएर परामर्शका लागि आउने गर्नुहुन्छ, परीक्षामा सोचेअनुसारको नतिजा नआउँदा, रोजगारी नपाउँदा लगायतका थुप्रै समस्या लिएर बढी मात्रामा युवा वर्ग नै आउने गरेका छन् ।” उनले अझै पनि समाजमा मानसिकका बिरामी भन्ने बित्तिकै भेदभाव, तिरस्कार, लाञ्छना लगाइने भएकाले पनि मनका बिरामी खुलेर बोल्न नसक्ने अवस्था रहेको बताए । घिमिरेले भने, “समाजमा मनका बिरामीलाई हेर्ने दृष्टिकोण फरक छ । भेदभाव र लाञ्छना अझै लगाइन्छ । यसले गर्दा मनका बिरामी खुलेर बोल्न सक्दैनन् । जसले गर्दा बिरामी झन् बिरामी हुन्छन् ।” उनले मानसिक स्वास्थ्य समस्या भएकाहरुलाई परिवारको सहयोग अति आवश्यक हुने बताए ।
नेपालमा दैनिक १९ जनाको आत्महत्याका कारण मृत्यु
आत्महत्याको धेरै कारण मध्ये मानसिक रुपमा अस्वस्थ हुनु पनि एक हो । नेपालमा दैनिक १९ जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ । त्यसमा किशोरकिशारीको सङ्ख्या सबैभन्दा बढी रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा मात्र ६ हजार ७ सय ९२ जनाको आत्महत्याको कारण मृत्यु भएको छ । जसमा गण्डकी प्रदेशमा ६ सय ३२ जनाको आत्महत्याका कारण मृत्यु भएको छ । जसमा सबै भन्दा बढी १६ वर्ष मुनिका बालबालिकाहरु रहेका छन् ।
आत्महत्याको मुख्य कारणहरुमा शैक्षिक असफलता, प्रेममा धोका, असफल, विवाहोत्तर सम्बन्ध, व्यापार व्यवसायमा घाटा, ऋण , गरिबी, घरेलु हिंसा, पारिवारिक कलह, पारिवारीक दबाव, साथीभाईसँगको झगडा, मनमुटाव, लैंगिक हिंसा, सामाजिक अपमान तथा बहिष्कार, लागू औषध दुव्र्यसन, मानसिक समस्या आत्महत्याको पारिवारिक पृष्ठभुमिलगायतका रहेका छन् ।
मनोरोग विशेषज्ञ डा. लिपा वैद्यले हर्मोन असन्तुलनसंगै आत्तिने बानी तनाव व्यवस्थापन गर्न नसक्नुले मन उदास हुदैँ जाने जसले पछि आत्महत्याको सोच बढ्दै जाने गरेको बताइन् । उनले आत्महानीको सोच गर्दै आत्महत्या गरिनहाले पनि त्यसले बेलैमा उपचार नपाउँदा आत्महत्यासम्म पुग्ने बताइन् । उनले भनिन्, “अहिले धेरैजनामा लक्षण देखापर्ने बित्तिकै अस्पताल पुगिहाल्ने व्यवहारको विकास भएपनि समाजको हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा अझै धेरैले आफ्नो मानसिक रोग गुम्साएर राख्ने गरेका छन् ।”
आज विश्व मानसिक दिवस, मानसिक स्वास्थ्य प्राथमिकतामा पर्दैन
“सबैका निम्ति मानसिक स्वास्थ्य र तन्दुरुस्तीलाई विश्व व्ययापी प्राथमिकता बनाऔं” भन्ने नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विविध कार्यक्रम मनाइएको छ । नेपाल सरकारले लिएको दिगो विकासका लक्ष्यमा सन् २०१५ देखि २०३० सम्ममा आत्महत्याको दर प्रति लाख १६.५ बाट घटाई ४.७ पुर्याउने लक्ष्य लिएको छ । तर मानसिक स्वास्थ्य अझै प्राथमिकता नपरेको सरोकारवाला निकाय बताँउछन् । परियोजना संयोजक घिमिरेले भने, “शारीरिक स्वास्थ्यका लागि सरकारकै करोडौ बजेटको कार्यक्रम पारित हुन्छ तर मानसिक स्वास्थ्यका लागि कार्यक्रम पर्याप्त नै हुदैनन् ।” उनले शरीरको जस्तै मानसिक स्वास्थ्यको पनि हरेकले ख्याल राख्नुपर्नेमा जोड दिए ।
आत्महत्या अथवा आत्महानिको सोच आएमा कुराकानी गर्नका लागि ११६६ मा फोन गर्नुहोस् । यो सेवा २४ घण्टा नै उपलब्ध छ र यस नम्बरमा फोन गर्न कुनै शुल्क लाग्दैन ।
प्रकाशित मिति २०७९ असोज २४ गते सोमबार ०१:४६




