इन्डियन प्रिमियर लिग (आईपीएल) को ११ औँ खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । हैदराबादले सिजनको पहिलो जीत हात पार्दा दिल्लीले भने पहिलाे हारकाे सामना गरेकाे छ ।
हैदराबादको जीतमा स्पीनर राशिद खानकाे भूमिका महत्वपूर्ण रह्याे । रसिदले दिल्लीका प्रमुख ३ ब्याटसम्यान शिखर धवन,श्रेयस एैयर र ऋषभ पन्तलाइ पवेलियनकाे बाटाे देखाए । रसिदले महत्वपूर्ण ३ विकेट लिएर खेलमा मात्र १४ रन खर्चिए ।आईपीएलमा याे उनको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । यसअघि उनले १९ रन खर्चिएर ३ विकेट लिएका थिए ।
टस हारेर पहिलो ब्याटिङ गरेकाे हैदराबादले ४ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । हैदराबादका लागि जोनी ब्रेस्टोले सर्वाधिक ५३ रनको योगदान दिए भने कप्तान डेभिड वार्नरले ४५ तथा केन विलियमसनले ४१ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३४ रन बनाए । त्यस्तै ऋषभ पन्तले २८ तथा शिमरोन हेटमायरले २१ रन बनाए ।
हैदराबादका लागि राशिदले ३ तथा भुवनेश्वरले २ विकेट लिए । खेलमा राशिद म्यान अफ द म्याच चुनिए ।
प्रकाशित मिति २०७७ असोज १४ गते बुधबार ०७:०९




