शुक्रबार २९ वटा प्रतिष्पर्धा
पोखरा
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा विभिन्न विधाका गरी २९ वटा प्रतिष्पर्धा भएका छन् । बिहीबार साँझबाट सुरु भएको फुल कन्ट्याक्ट कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा प्रतिष्पर्धा हुँदैछ ।
शुक्रबार भएको ३५ देखि ४० केजी तौल समूहमा नेपाल आर्मीका सागर थिङ, प्रदेश एकका सुगम पासवान र गण्डकीका अभिशेक डिमडुङ सेमिफाइनलमा प्रवेश गरेको फुल कन्ट्याक्ट कराँते गण्डकी प्रदेशका प्रशिक्षक सुवास खड्काले बताए ।
पोखराको प्रदर्शनी केन्द्रमा शुुक्रबार भएका पुरुषतर्फको खुल्ला प्रतिष्पर्धामा गण्डकीका रुपक नेपालीले वागमतीका सन्देश श्रेष्ठलाई पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनले सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए भने यो पटक पनि स्वर्ण जितेर ह्याट्रिक गर्ने दाउमा छन् । आठौं राष्ट्रिय खेलकुदमा रजत पदक जितेकी गण्डकीकी सरगम कुमालले ५० केजी तौल समूहमा मधेश प्रदेशकी दिपीका पटेललाई पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । शुक्रबार ४० केजी तौल समूह बाहेकका अन्य विधाका प्रिक्वाटर र क्वाटर फाइनलका खेल भएका हुन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको फुल कन्ट्याक्ट कराँते खेल सहसंयोजक दीपक गोदारका अनुुुुसार खेलमा सात वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी छन् । खेलमा महिलातर्फ ३५—४०, ४०—४५, ४५—५०, ५०—५५ केजी तौल र खुुल्ला तौल समूहमा प्रतिष्पर्धा भइरहेको छ भने पुरुषमा ३५—४०, ४०—४५, ४५—५०, ५०—५५, ५५—६०,६०—६५ केजी तौल र खुल्ला तौलम समूहमा प्रतिष्पर्धा भएको छ ।
शनिबार बिहान ८ बजेदेखि खेलहरु सुरु हुने गोदारले बताए । अन्तर्राष्ट्रिय स्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियम अनुसार प्रतिष्पर्धा गराइएको गोदारले बताए । सातौं र आठौं राष्ट्रिय खेलकुदमा टिम च्याम्पियन बनेको गण्डकी यो पटक पनि च्याम्पियन बनेर ह्याट्रिक गर्ने दाउमा छ ।
प्रकाशित मिति २०७९ असोज २८ गते शुक्रबार ०४:४९




