अरु दिनभन्दा आइबार बिहानैदेखि पोखराको आकास सफा थियो । लस्करै हिमाल खुलेका थिए । माछापुच्छ्रे हिमालको सामुन्ने सफा आकासमा प्याराग्लाइडिङ कौसल देखाएर उपाधि चुम्ने सपना पनि उसैगरी खुलेको थियाे, निसिम थापाको मनमा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत उपाधि चुम्नकै लागि २६ वर्षीय निसिम उत्साही थिए । शनिबार उत्कृष्ठ प्रदर्शन गरेका निसिम आइतबार अझै आफ्नो कौसल देखाउन चाहन्थे । उनको प्रदर्शन देखेर नै त्रिभुवन आर्मी क्लबले यो प्रतियोगिताका लागि निसिमलाई करारमा अनुवन्ध गराएको थियो । उनले उत्तिकै अभ्यास पनि गरिरहेका थिए । किनकी आइतबार र सोमबार उत्कृष्ठ प्रदर्शन गरे उनको समूह विजेता हुने पक्काजस्तै थियो ।
मौसम र हावाको गति परीक्षण गर्न एपिएफका कोच सुरेन गुरुङ उडिसकेका थिए । क्रस कन्ट्री प्लाराग्लाइडिङ प्रतियोगिताका लागि पहिलो नम्बरमा उनै निसिमले टेक अप गरे, अरु तम्तयार अवस्थामा थिए । सराङकोटबाट टेक अप गरेर ५०-६० मिटरमाथि मात्र माथि निसिम के पुगेका थिए, उनको ग्लाइड फनफन्ती घुम्यो र जमिनतिर खस्दै बजारिन पुग्यो । एउटा भागलाई हावाले खुम्च्याइदियो र आकासतिर उड्दै जानुपर्ने निसिममा भुइँतिर खसे ।
नवौं राष्ट्रिय त्रिभुवन आर्मी क्लबलाई उपाधि जिताएर आफू पनि प्याराग्लाइडिङ क्षेत्रमा चम्किने निसिमको सपना निमेषभरमै चुँडियो । भुइँमा बजारिएका निसिमलाई उपचारका लागि अस्पताल पु¥याइएको भए पनि डाक्टरले प्राण गइसकेको जानकारी गराए । संसारकै उत्कृष्ठमध्ये मानिने पोखराको प्याराग्लाइडिङ आकासबाट एक आशालाग्दा खेलाडीको इहलीलामात्रै समाप्त भएन, यही खेलबाट विश्वमा नेपाललाई चिनाउने एउटा सपना पनि टुटेको महसुस पोखरेलीले गरेका छन् । प्याराग्लाइडिङमा कहिलेकाहीँ देखा पर्ने प्राविधिक समस्याले निसिमको उपाधि चुम्ने हुटहुटीको अन्त्य गरिदियो ।
‘म आकासमै थिएँ । निसिमले टेक अप गरेर ५०-६० मिटर माथि पुग्नेबित्तिकै उसको ग्लाइड घुमिसकेको थियो । अलि धेरै उचाइमा भएको भए कन्ट्रोल गर्न सजिलो हुने थियो तर कम हाइड भएकाले भुइँमा खसिहाल्यो,’ एपीएफका कोच सुरेन गुरुङले भने, ‘आकासमा उड्दा कहिलेकाहीँ ग्लाइड कोल्याप्स हुन्छ । उचाइमा भएको भए, उद्धार गर्न मिल्थ्यो । रेस्क्यु गर्न मिल्थ्यो तर हाइट कम भएकाले रेस्क्यु गर्न पनि मिलेन ।’
हावा र मौसमको अवस्था बुझ्न सुरेन उडेलगत्तै पहिलो खेलाडीका रुपमा निसिमले नै टेक अप गरेका थिए । सबै ठिक ठाक हुँदा हुँदै पनि निसिमले टेक अप गरेको केही मिनेटमा प्याराग्लाइडिङ घुम्दै सम्हालिन नसकेर भुँइमा खसेको सुरेनले बताए । उनका अनुसार यसलाइ प्लाराग्लाइडिङको प्राविधिक भाषामा ‘कोल्याप्स हुने’ भनिन्छ ।
निसिमसँग लामो अनुभवमात्र थिएन, देश तथा विदेशमा प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिएको र जितेको इतिहास पनि थियो । नेपाल च्याम्पियन लिगमा पटक पटक विभिन्न उपाधि पाएका निसिमले भारत, कोरिया, इन्डोनेसिया लगायतका देशका आकासमा प्याराग्लादइडिङ कला देखाएका थिए । निसिम चाहन्थे, प्याराग्लाइडिङबाटै देश विदेशमा पुग्न र चिनिन । ‘उनको रगरगमा प्याराग्लाइडिङ थियो । केही देशमा प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिएपछि उनले एक दिन वल्ड्रकप नै जितेर देखाउँछु भन्थे,’ उनका प्याराग्लाइङि पाइलट साथी अर्जुन बरालले भने, ‘उनी व्यावसायिक उडान पनि गर्थे तर सोलो उडानमा निकै रुचि राख्थे । अब भने उनको सपना, योजना सम्झनामात्रै रह्यो ।
गोरखा पालुङटार घर भइ उनको परिवार पोखरा हस्पिटल चोक बस्दै आएको थियो । उनका बुबा प्रकाश थावा गोरखा–२ मा पुष्पकमल दाहाल प्रचण्डको क्षेत्रमा स्वतन्त्र उम्मेदवारीसमेत दिएर प्रचारप्रसारमा थिए । अंग्रेजी साहित्यमा पिएचडी गरेका प्रकाश लेखकसमेत थिए ।
केही समय रेडियोमा र लामो समय पोखराको एसओएस स्कुलमा प्राध्यापन गरेका प्रकाश र पोखरामै रिड्ज वाटर मन्टेसरी चलाइरहेकी उनकी श्रीमती सावित्री मोक्तानको एकमात्र भरोसा र सपना थिए, निसिम । यो दुर्घटनाले प्याराग्लाइडिङबाटै विश्वमा चिनिने सपनामा मलजल गरिरहेका परिवारकै एक्ला छोरा निसिमलाई खोसेर लगेको छ ।
‘बुबा आमाले पनि उनको योजनालाई पूरै साथ र सहयोग दिनुभएको थियो । उसलाई जुनसुकै देशमा पठाउन सक्नुहुन्थ्यो तर उहाँहरुले नेपालमै केही गर्नुपर्छ भनेर ऊर्जा भरिरहनुहुन्थ्यो,’ पाइलट अर्जुनले भने, ‘तर, दुर्घटनाले परिवार, सिंगो पोखरेली प्याराग्लाइडिङ क्षेत्र र नेपाललाई नै चिनाउने सम्भावना नै उडाइदियो ।’ निसिम नेपालकै उत्कृष्ठ दशभित्र पर्ने प्याराग्लाइडिङ पाइलट रहेको लामो समयदेखि संगत गरेका पालइलट क्लबका अध्यक्ष विमल पहारीले बताए । ‘टेन्डममा होस् र क्रस कन्ट्रीमा उनको निकै राम्रो कौसल थियो,’ विमलले भने, ‘तर, कस्तो दूर्भाग्य भयो, अब उनी सम्झनामा मात्रै रहे ।’
उनले नेपाल च्याम्पियन लिगमा थुप्रै पटक विभिन्न उपाधि जितेको बताए । ‘फर्ममेन्सकै आधारमा त्रिभुवन आर्मी क्लबमा करारमा अनुवन्ध भएका थिए । विभागीय टोलीमा पर्दा उनी निकै खुसीमात्र थिएनन्, उपाधि जित्ने हुटहुटी पनि थियो ।
प्रतियोगितामा ५ समूहका २५ जना खेलाडी सहभागी थिए । प्रतियागितामा टर्न प्वइन्टहरु पार गर्नुपर्ने हुन्छ भने ग्लाइडरमा जिपिएस जडार्न गरी डिभाइसमार्फत नतिजा निकालिने कोच सुरेन गुरुङले बताए । ‘शनिबारको टास्कमा उनको समूह पहिलो नम्बरमै आएका थिए । आज र भोलिको टास्क पूरा गरेपछि नतिजा निकालिन्थ्यो,’ सुरेनले भने, ‘क्रस कन्ट्रीमा अहिलेसम्म आर्मी नै अगाडि छ ।’
निसिम आठौं खेलकुद प्रतियोगितामा आमीबाटै खेलेका थिए र त्यो बेला आर्मीले रजत पदक जितेको थियो । आठौंबाट मात्र प्याराग्लाइडिङलाई राष्ट्रिय खेलकुदमा समावेस गरिएको हो । पोखरामा भएको प्रि–वल्र्ड कपमा पनि निसिमले एउटा उपाधि पाएका थिए ।
उनको निधनले सिंगो पोखरेली प्याराग्लाइडिङ क्षेत्रलाई नै स्तब्ध बनाएको नेपाल हवाइ खेलकुद संस्था (ना) सुनीलबहादुर भट्टराईले बताए । यसअघि पोखरा प्याराग्लाइडिङ कम्पनीमार्फत व्यावसायिक उडानसमेत गर्दै आएका निसिमले पछिल्ला केही वर्षदेखि एड्रिएलन प्याराग्लाइङि कम्पनीमार्फत काम गर्दै आएका थिए । निसिमले एक दशकदेखि प्याराग्लाइडिङ उडान गर्दै आएको भट्टराईले बताए ।
यसपाली प्रतियोगितमा त्रिभुवन आर्मी, एपीएफ, गण्डकी, कर्णाली र प्रदेश नम्बर १ सहभागी छन् । तर, प्रतियोगिता अनिश्चित बनेको छ भने नागरिक उड्डयन प्राधिकरणले नेपालभर प्याराग्लाइडिङ उडानमा प्रतिवन्ध पनि लगाएको छ ।
प्रकाशित मिति २०७९ असोज ३० गते आइतबार ०५:१९




