पोखरा
प्याराग्लाइडिङ दुर्घटनामा परी निधन भएका निसिम थापाको आज अन्तिम संष्कार गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्प्तालबाट सेती नदी किनार रामघाट वौद्ध अर्घो सदनसम्म शवयात्रासहित थापाको अन्त्येष्टि गरिएको हो । उनको अन्त्येष्टिमा प्याराग्लाइडिङ पाइलटहरु, खेलसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधि, गण्डकी प्रदेशस्थित सरकारी निकायका उच्च पदस्थ व्यक्ति, सुरक्षा निकाय लगायत सहभागी भए । प्याराग्लाइडिङका आशालाग्दा खेलाडी २६ वर्षीय थापालाई नेपाली सेनाले अन्तिम सलामी अर्पण गरेको थियो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री खेल भइरहेको अवस्थमा आइतबार उनको दुर्घटनामा परेर निधन भएको हो । पोखराको सराङकोटस्थित क्रस कन्ट्री प्याराग्लइडिङ खेल भइरहेको र उडिरहेको प्याराग्लाइडिङ एक्कासी जमिनमा बजारिँदा उनको निधन भएको हो । प्रहरीका अनुसार १ सय मिटर माथिबाट उक्त प्याराग्लाइडिङ जमिनमा खसेको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्ट अन्तर्गत उपाधि चुम्नकै लागि २६ वर्षीय निसिम उत्साही थिए । शनिबार उत्कृष्ट प्रदर्शन गरेका निसिम आइतबार अझै आफ्नो कौसल देखाउन चाहन्थे । उनको प्रदर्शन देखेर नै त्रिभुवन आर्मी क्लबले यो प्रतियोगिताका लागि निसिमलाई करारमा अनुबन्ध गराएको थियो । उनले उत्तिकै अभ्यास पनि गरिरहेका थिए । किनकी आइतबार र सोमबार उत्कृष्ट प्रदर्शन गरे उनको समूह बिजेता हुने पक्काजस्तै थियो ।
क्रस कन्ट्री प्लाराग्लाइडिङ प्रतियोगिताका लागि पहिलो नम्बरमा उनै निसिमले टेक अप गरे र सराङकोटबाट टेक अप गरेर ५०–६० मिटरमाथि मात्र माथि निसिम के पुगेका थिए, उनको ग्लाइड फनफन्ती घुम्यो र जमिनतिर खस्दै बजारिन पुग्यो । एउटा भागलाई हावाले खुम्च्याइदियो र आकासतिर उड्दै जानुपर्ने निसिममा भुइँतिर खसे ।
नवौं राष्ट्रिय त्रिभुवन आर्मी क्लबलाई उपाधि जिताएर आफू पनि प्याराग्लाइडिङ क्षेत्रमा चम्किने निसिमको सपना क्षण भरमै चुँडियो । भुइँमा बजारिएका निसिमलाई उपचारका लागि अस्पताल पु¥याइएको भए पनि डाक्टरले प्राण गइसकेको जानकारी गराए । खेलबाट विश्वमा नेपाललाई चिनाउने एउटा सपना पनि टुटेको महसुस पोखरेलीले गरेका छन् । प्रशिक्षक एपीएफका कोच सुरेन गुरुङले भने, ‘आकासमा उड्दा कहिलेकाहीं ग्लाइड कोल्याप्स हुन्छ । उचाइमा भएको भए, उद्धार गर्न मिल्थ्यो । रेस्क्यु गर्न मिल्थ्यो तर हाइट कम भएकाले रेस्क्यु गर्न पनि मिलेन ।’ उनका अनुसार यसलाइ प्लाराग्लाइडिङको प्राविधिक भाषामा ‘कोल्याप्स हुने’ भनिन्छ ।
निसिमसँग देश तथा विदेशमा प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिएको र जितेको इतिहास थियो । नेपाल च्याम्पियन लिगमा पटक पटक विभिन्न उपाधि पाएका निसिमले भारत, कोरिया, इन्डोनेसिया लगायतका देशका आकासमा प्याराग्लादइडिङ कला देखाएका थिए । निसिम चाहन्थे, प्याराग्लाइडिङबाटै देश विदेशमा पुग्न र चिनिन ।
गोरखा पालुङटार घर भइ उनको परिवार पोखरा हस्पिटल चोक बस्दै आएको थियो । उनका बुबा प्रकाश थापा गोरखा–२ मा पुष्पकमल दाहाल प्रचण्डको क्षेत्रमा स्वतन्त्र उम्मेदवारीसमेत दिएर प्रचारप्रसारमा थिए । अंग्रेजी साहित्यमा पिएचडी गरेका प्रकाश लेखक समेत थिए । केही समय रेडियोमा र लामो समय पोखराको एसओएस स्कुलमा प्राध्यापन गरेका प्रकाश र पोखरामै रिड्ज वाटर मन्टेसरी चलाइरहेकी उनकी श्रीमती सावित्री मोक्तानको एक मात्र भरोसा र सपना थिए, निसिम ।
निसिम नेपालकै उत्कृष्ट दशभित्र पर्ने प्याराग्लाइडिङ पाइलट रहेको लामो समयदेखि संगत गरेका पालइलट क्लबका अध्यक्ष विमल पहारीले बताए । उनले नेपाल च्याम्पियन लिगमा थुप्रै पटक विभिन्न उपाधि जितेको बताए प्रतियोगितामा ५ समूहका २५ जना खेलाडी सहभागी थिए । निसिम आठौं खेलकुद प्रतियोगितामा आर्मीबाटै खेलेका थिए र त्यो बेला आर्मीले रजत पदक जितेको थियो । उनको निधनले सिंगो पोखरेली प्याराग्लाइडिङ क्षेत्रलाई नै स्तब्ध बनाएको नेपाल हवाइ खेलकुद संस्था (ना) सुनीलबहादुर भट्टराईले बताए । निसिमले एक दशकदेखि प्याराग्लाइडिङ उडान गर्दै आएको भट्टराईले बताए ।
प्रकाशित मिति २०७९ असोज ३१ गते सोमबार ०१:१६



