पोखरा
नेपालमा संघीय शासन लागू भएपछि मंसिर ४ गते दोस्रो पटक संसदीय चुनाव हुँदैछ । राजनीतिक दल र उम्मेदवार आफ्नो पक्षमा मत माग्न घरदैलो लगायत चुनावी गतिविधिमा सक्रिय भएका छन् ।
निर्वाचनको मिति आउन ३२ दिन बाँकी रहेको बेलामा निर्वाचन आयोगले आचारसंहिता पालन गर्न दल र उम्मेदवारलाई निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारहरुलाई आयोगले ७ बुँदे निर्देशन दिएको हो ।
लाभको पदमा रहेका व्यक्तिहरुलाई निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत साधन उपयोग नर्गन, घरदैलोको कार्यक्रम गर्दा सरक्षकर्मीहरूसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिई नहिँड्न आयोगका उपसचिव एवं सहायक प्रवक्ता ऋषिराम भुसालले विज्ञप्ति निकालेर सचेत गराएका छन् ।
सभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचार प्रसारको लागि सवारी साधन प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएको उल्लेख गर्दै आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न निर्देशन दिएको हो । अहिलेको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धनबीच नै प्रतिष्पर्धा हुने देखिएको छ ।
प्रकाशित मिति २०७९ कात्तिक २ गते बुधबार १२:५०




