२०८३ असोज २३ गते शुक्रबार

खोटाङमा ‘ठेकेदार पीडित नगर’ घोषणा

खोटाङमा ‘ठेकेदार पीडित नगर’ घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ४ गते शुक्रबार १२:२९

नगरभित्र ठेक्कामा काम भइरहेका धेरैजसो योजनाको काममा ठेकेदारले चरम ढिलासुस्ती गरेपछि ठेकेदार पीडित नगर घोषणा गरिएको हो ।

खाेटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ठेकेदार पीडित नगर घोषणा गरिएको छ । नगरभित्र ठेक्कामा काम भइरहेका धेरैजसो योजनाको काममा ठेकेदारले चरम ढिलासुस्ती गरेपछि ठेकेदार पीडित नगर घोषणा गरिएको हो ।

नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आयोजनाको काममा आलटाल गर्ने, ढिलासुस्ती गर्ने र सम्पर्कविहीन बनेर राज्यलाई ठगी गर्ने केही निर्माण व्यवसायीका कारण नगरपालिकालाई केही गैर–जिम्मेवार निर्माण व्यवसायी पीडित नगर घोषणा गर्नुभएको हो । नगरपालिकाभित्र विभिन्न समयमा ठेक्का लागेको सडक, पुल, खेलमैदान र भवन निर्माण सम्वन्धीका १७ वटा योजनाको काममा निर्माण व्यवसायीले चरम ढिलासुस्ती गरेको तथा पटक–पटक पत्राचार गर्ने, टेलीफोनमार्फत ताकेता गर्ने र डेलीगेसन जाँदा पनि बेवास्ता गरेकाले ठेकेदार पीडित नगर घोषणा गर्नुपरेको मेयर भट्टराईले बताउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३ कात्तिकको मितिदेखि ३५ दिनभित्र आयोजनाको प्रगतिसहित मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ । ३५ दिनभित्र काम सुरु नभए र तोकिएको समयसीमाभित्र काम सम्पन नहुने स्थिति सिर्जना भएमा नगरपालिकाबाट सम्बन्धित नियामक निकायहरुमा निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने लगायतका कानुनी कारबाहीको लागि सिफारिस गर्ने मेयर भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति २०७९ कात्तिक ४ गते शुक्रबार १२:२९
हजुरको प्रतिक्रिया