२०८३ साउन २१ गते बिहीबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्वको रिठ्ठेपानी डाँडा १४ मिटर काटिने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्वको रिठ्ठेपानी डाँडा १४ मिटर काटिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ७ गते सोमबार १०:५९

चिनको एक्जिम बैंकको सहु्लियत पूर्ण करिब २२ अर्बको ऋण लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो ।

ल्यान्डफिल सार्न अन्यौल

पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पूर्वमा रहेको रिठ्ठेपानी डाँडा कटान प्रक्रिया अगाडि बढेको छ । उक्त डाँडा कटान कम्पनी छनोट भएसँगै प्रक्रिया अघि बढेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले डाँडा कटान गर्न एम–एस उमा–गल्वा जेभी निर्माण कम्पनी छनोट भएको जानकारी दिए ।

छनोट भएको कम्पनीलाई कात्तिक १५ गते वित्तीय विवरण पेस गर्न क्यानले निर्देशन दिएको छ । उक्त डाँडा कटानका लागि १० वटा कम्पनीले आवेदन दिएका थिए । पहिलो चरणमा १४ मिटर डाँडा कटान गरिने अधिकारीले बताए । विमानस्थलको परीक्षण उडान (फ्लाइट क्यालिब्रेसन) का लागि पहिलो चरणमा १४ मिटर डाँडा काट्ने योजना क्यानले बनाएको छ । विमानस्थल सञ्चालन अघि फ्लाइट क्यालिब्रेसन अनिवार्य छ ।

डाँडा कटानबाट निकालिने माटो जन्यबस्तु पोखरा १४ स्थित बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइट पुर्न प्रयोग गरिने क्यानले बताएको छ । उक्त विमानस्थलमा आगामी नोभेम्बरमा फ्लाइट क्यालिब्रेसन गरिने प्राधिकरणले जनाएको छ । चिनको एक्जिम बैंकको सहु्लियत पूर्ण करिब २२ अर्बको ऋण लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो । विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले आगामी अंग्रेजी नयाँ वर्षदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्ने निर्णय यस अघि नै गरिसकेको छ । पोखरा विमानस्थलमा १ सय ८० सिटे जहाज उडान अवतरण गर्न सक्छन् ।चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले सो विमानस्थल निर्माण गरेकाे हाे ।

विमानस्थल सञ्चालनमा वाधक बनेको ल्यान्डफिल साइट सार्ने बारेमा पोखरा महानगरपालिकाले अझै ठोस निर्णय गरेको छैन भने कहाँ सार्ने त्यस बारेमा पनि अन्यौल रहेको छ । फोहोर व्यवस्थापनको कुन मोडल अपनाउने बारेमा महानगर प्रमुख धनराज आचार्यसहितको पोखरा महानगरको टोलीले नेपालकै धरान नगरपालिकामा भइरहेको फोहोर व्यवस्थापन र भारतको दिल्ली, बेङलोर सहरको फोहोर व्यवस्थापनको अध्ययन अवलोकन गरेको थियो । पोखरा ३३ को साविक भरतपोखरीकाे टिउर पाटोमा सार्ने भनेर गरिएको निर्णय पनि अलपत्र छ । ‘फोहोर व्यवस्थापनका मोडलहरु हेर्न काम भयो,’महानगर स्रोतले भन्यो,‘अहिलेसम्म केही पनि काम भएको छैन ।’

प्रकाशित मिति २०७९ कात्तिक ७ गते सोमबार १०:५९
हजुरको प्रतिक्रिया