भारत
भारतको गुजरातस्थित मोरबी भन्ने स्थानमा मच्छु नदी माथिको पुल चुडिँदा एक सय ४७ जनाको ज्यान गएको छ । आइतबार साँझ भएको घटनामा ५० जना अझै बेपत्ता भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार २ सय बढी घाइते भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको छ । घटनाको अनुसन्धान गर्न ५ सदस्यीय समिति पनि गठन गरिएको छ ।
घटनामा भारतका राष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी, गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेल लगायतले दुख व्यक्त गरेका छन् । मुख्य मन्त्री पटेलले घाइतेलाई अस्पताल पुगेर स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका छन् । पुलमा क्षमता भन्दा बढी मानिस भएकाले चुडिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । मर्मतका लागि ६ महिना पुल बन्द थियो भने अक्टोबर २८ तारिखदेखि पुलमा चढ्न खुल्ला गरिएको थियो ।
घटना हुने बेलामा उक्त पुलमा ४ सय जना मानिस भएको अुनमान छ । उक्त पुलमा चढ्नका लागि भारु १७ रुपैंया शुल्क तोकिएको छ । वर्षौ पुरानो पुलको हालै मर्मत भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । पुल १.२५ मिटर चौडाइ र २ सय ३३ मिटर लम्बाइ छ ।
प्रकाशित मिति २०७९ कात्तिक १४ गते सोमबार ०८:२१




