२०८३ साउन २१ गते बिहीबार

अन्डरग्राउन्ड खाली गराउन पोखरा महानगर एक्सनमा

अन्डरग्राउन्ड खाली गराउन पोखरा महानगर एक्सनमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १५ गते मंगलबार ०८:०३

सोमबार महानगरले एक सूचना जारी गरेर आज मंगलबारदेखि अन्डरग्राउन्ड खाली गरिने जानकारी गराएको छ ।महानगरपालिका अनुसार न्युरोडबाट अन्डरग्राउन्ड खाली गरिनेछ ।

पोखरा

पार्किङको अनुमति लिई अन्य प्रयोजनमा उपयोग गरिएको अन्डरग्राउन्डलाई पोखरा महानगरपालिका आफैले खाली गराउने भएको छ । घरधनी तथा व्यवसायीलाई अन्डरग्राउन्ड खाली गरी पार्किङको रुपमा प्रयोग गर्न पटकपटक सूचना जारी गरेर अनुरोध गर्दा पनि अटेर गरेपछि पार्किङका लागि बनाएको अन्डरग्राउन्ड महानगरले आजदेखि खाली गराउने भएको हो ।

पोखरा महानगरभित्रका घरहरुमा पार्किङका लागि बनाइएको अन्डरग्रान्ड अन्य प्रयोजनामा प्रयोग गरिएपछि गत असारदेखि असोजसम्म महानगरले पटकपटक सूचना निकालेर खाली गर्न भनेको थियो । तर, सूचनालाई सरोकारवालाहरुले वेवास्ता गरेपछि आजदेखि महानगर एक्सनमा उत्रिन लागेको हो ।

सोमबार महानगरले एक सूचना जारी गरेर आज मंगलबारदेखि अन्डरग्राउन्ड खाली गरिने जानकारी गराएको छ ।महानगरको सूचनामा भनिएको छ,‘पोखरा महानगरपालिका भित्र रहेका भूमिगत पार्किङलाई सोही प्रयोजनमा लागि गर्न/गराउन सम्बन्धित घरधनी र व्यवसायीहरुलाई सार्वजनिक रुपमा पटकपटक आग्रह गर्दा पनि अटेर गरी प्रयोजन विपरीतका सञ्चालनमा रहेका भूमिगत पार्किङहरु मंगलबारदेखि महानगर आफैले खाली गर्ने व्यहोरा जानकराीका लागि सबैमा अनुरोध छ ।’ महानगरपालिका अनुसार न्युरोडबाट अन्डरग्राउन्ड खाली गरिनेछ ।

पोखराका चोकहरुमा घर बनाउँदा अन्डरग्राउन्ड पार्किङ अनिवार्य बनाउनुपर्ने प्रावधान रहेको छ । अन्डरग्राउन्ड पार्किङ नबनाए नक्शा पास हुँदैन । आर्थिक वर्ष २०७६/७७ देखि अन्डरग्राउन्ड पार्किङसहित घर वा भवन बनाउँदा नक्शा पास दस्तुरमा एक तलाको राजस्व छुटको व्यवस्था गरिएको छ । गत आर्थिक वर्षमा अन्डरग्राउन्ड पार्किङ बनाउनेलाई भुइँतलाको ५० प्रतिशत छुट दिइएको छ ।

महानगरको प्रावधानमै रहेर घरधनीले घर निर्माण गरेर राजश्वमा छुट लिने तर घर निर्माण भइसकेपछि भने अन्डरग्राउन्डलाई पार्किङ नभइ अन्य प्रयोजनमा प्रयोग गर्ने गरेका छन् । भुँइतलालाई उनीहरुले व्यवसायिक प्रयोजन र गोदाम (भण्डार)का रुपमा प्रयोग गर्ने गरेका छन् । २ सय ५० मध्ये करिब ६० घरले मात्रै महानगरको मापदण्डमा रहेर अन्डरग्राउन्डलाई पार्किङका रुपमा प्रयोग गर्ने गरेको महानगरका इञ्जिनियर सुरेन्द्र पौडेलले बताए । पार्किङ गर्नुपर्ने ठाउँमा मोटरसाइकल ग्यारेज, मोबाइल पसल, खाजाघर, दोहोरी साँझ, कपडा पसल लगायतका व्यवसाय छन् ।

पोखराका चोक तथा नजिकका क्षेत्रहरु पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, सभागृहचोकमा पार्किङको अभाव रहेको छ । पोखराका मेयर धनराज आचार्यले चाड पर्व सकिएपछि एक्सनमा उत्रने यसअघि नै बताएका थिए ।

प्रकाशित मिति २०७९ कात्तिक १५ गते मंगलबार ०८:०३
हजुरको प्रतिक्रिया