काठमाडौं
नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजबाट थुनछेक बहस हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदातलमा अभियोगपत्र दर्ता गरेको थियो । मंगलबार सन्दीपसँग अदालतमा बयान लिइएको थियो ।
मंगलबार नै उनको बयान सकिएकाले आज बुधबारदेखि थुनछेक बहस सुरु हुन लागेको हो । मंगलबार अदालतमा भएको बयान पनि सन्दीपले आरोपलाई अस्वीकार गरेका छन् । उनले प्रहरीले लिएको बयानमा पनि होटलमासँगै बसेको तर जवर्जस्ती बलात्कार नगरेको बताएका थिए । थुनछेक बहसपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने, तारेख वा धरौटीमा छाड्ने मध्ये एउटा आदेश हुनेछ । सन्दीप विरुद्धको मुद्दा न्यायाधीश माधवप्रसाद पराजुलीको इजलासमा छ ।
सन्दीपकोतर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभ मैनाली, कृष्ण सापकोटा र सरीता भण्डारी लगायतले बहस गर्नेछन् । सन्दीपलाई १० देखि १२ वर्षसम्मको सजाय दाबी गर्दै सरकारी वकिलको कार्यालय मुद्दा दर्ता गरेको छ ।
२० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछाने विरुद्ध प्रहरीले ३ पटक म्याद थप गरी अनुसन्धान गरेको थियो । १७ वर्षीय किशोरीले गत भदौ २१ गते लामिछाने विरुद्ध उजुरी दिएकी थिइन् । उनले गत भदौ ५ गते लामिछानेले आफूलाई बलात्कार गरेको उल्लेख गरेकी छन् ।
प्रकाशित मिति २०७९ कात्तिक १६ गते बुधबार १०:३५




